काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमीटेडले पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली आउनेबित्तिकै सेयरको मूल्य बढ्छ भन्ने भ्रम त्यागिदिन लगानीकर्ताहरुमा आह्वान गरेको छ । 

लगानीकर्ताका संघ संगठनहरुले अनलाइन आएपछि पनि बजार र सेयर मूल्य घटेको भन्दै नेप्सेमा ज्ञापनपत्र बुझाई बजार लगातार घटिरहे आन्दोलन थाल्ने चेतावनी दिइरहेकै बेला नेप्सेबाट यस्तो स्पष्टोक्ति आएको हो । 

प्रवक्ता मुराहरि पराजुलीले बुधबार साँझ एक विज्ञप्ति जारी गर्दै सेयरको मूल्यमा घटबढ र अनलाइन कारोबार प्रणाली नितान्त फरक बिषय भएको भन्दै अगाडि भनेका छन्–‘सेयरको मूल्य निर्धारण माग र आपूर्ति सम्बन्धी बजारको नियमले काम गरेको हुन्छ । यसमा सम्बन्धित सूचिकृत कम्पनीको वित्तीय अवस्था, नाफा तथा नोक्सान, भविष्यको संभावना, व्यवस्थापन पक्ष, संचालकहरुको छविले ठूलो भूमिका खेलेको हुन्छ भने ती कम्पनीहरुलाई हेर्ने विद्यमान तथा संभावित लगानीकर्ताको दृष्टिकोणले पनि सेयरको मूल्यमा उतारचढाव ल्याउने गर्छ ।’ 

अनलाइन कारोबार प्रणाली सचिकृत धितोपत्रको कारोबारमा सहजता ल्याउने उल्लेख गर्दै विज्ञप्तिमा यसबाट कारोबार संख्या र आकारमा मात्र वृद्धि हुन सक्ने भएकोले कसैले अनलाइन कारोबार प्रणाली आएपछि सेयरको भाउ बढ्छ भन्ने किसिमको भ्रामक प्रचार गरिरहेको छ भने त्यसतर्फ सजग हुन लगानीकर्तालाई अनुरोध समेत गरेको छ । 

‘नेप्सेले अनलाइन प्रणालीमा देखिएको समस्या क्रमशः समाधान हुँदै गएको दाबी समेत गरेको छ । नेप्सेको नयाँ प्रणालीका २० भाग छन् ।’ विज्ञप्तिमा भनिएको छ–‘यीमध्ये धेरैजसो मुख्य भागहरुलाई संचालनमा ल्याइसकिएको छ । सहायक भागहरुलाई क्रमिक रुपमा एकबद्ध गर्दै प्रणालीको स्तरोन्नति भइरहेको छ ।’ 

नेप्सेले लगानीकर्ताहरुबाट विद्युतीय माध्यमबाट तत्काल राफसाफ र फछ्र्यौटको व्यवस्था गर्न माग भएको सन्दर्भमा समेत आफ्नो कुरा प्रष्ट बनाएको छ । ‘नेप्सेको अनलाइन कारोबार प्रणाली विद्युतीय माध्यमबाट  राफसाफ र फछ्र्यौट गर्न सक्षम छ ।’ विज्ञप्तिमा भनिएको छ–‘सोही अनुरुप राफसाफ र फछ्र्यौटमा सामञ्जयस्ता ल्याउने गरी क्लियरिंग बैंकले पनि प्रणालीको विकास गर्नुपर्ने हुन्छ । हाल नेप्सेसँग आबद्ध ४ वटा क्लियरिंग बैंकमध्ये एउटाले त्यस्तो प्रणालीको विकास गरिसकेको छ भने अन्य बैंकहरुले पनि यस सम्बन्धी तयारी गरेका छन् ।’ 

नेप्सेले यसबाहेक पनि निश्चित मापदण्ड बनाएर क्लियरिंग बैंकहरु थप्ने गृहकार्य समेत थालिएको प्रष्ट्याएको छ । यो बिषयमा नेपाल क्लियरिङ हाउस लिमीटेडसँग पनि वार्ता भइरहेको बताइएको छ ।