काठमाण्डौ । आफ्नै  पूर्व घोषणाबाट पछि हट्दै नेपाल स्टक एक्सचेञ्जले आजबाट सुरु भएको बैंक इन्टीग्रेसनसहितको अनलाइन सेयर कारोबार प्रणाली अनिवार्य नभएको प्रष्टीकरण सार्वजनिक गरेको छ । 

नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले मंगलबार एक विज्ञप्ति प्रकाशित गरी सेयर कारोबारका लागि अनलाइन ट्रेडिङ अनिवार्य नरहेको र लगानीकर्ताले साबिकमा झै ब्रोकर अफिसबाट पनि कारोबार गर्न सक्ने प्रष्ट पारेका हुन् । 

‘अनलाइन सिस्टम दोश्रो बजार कारोबारमा लगानीकर्तालाई सहजता होस् भन्ने उद्देश्यले ल्याइएको थप सुविधा हो ।’ विज्ञप्तिमा भनिएको छ–‘लगानीकर्तालाई साबिकमा झै कारोबार गर्ने वा अनलाइन प्रणालीबाट गर्ने भन्ने छनोट उपलब्ध छ ।’ 

यसअघि नेप्सेले जनवरी १ बाट सेयर कारोबारका लागि अनलाइन प्रणालीलाई अनिवार्य गरिने र सोही मितिबाट फूल फेजको अनलाइन कारोबार प्रणाली संचालनमा ल्याइने घोषणा गरेको थियो । तर, त्यसबेला ‘अनिवार्य’ भनिएको अनलाइन कारोबार प्रणालीलाई नेप्सेले ‘थप सुविधा(विकल्प)’मा सीमित गरिदिएपछि यसले लगानीकर्तामाझ अनलाइन कारोबार प्रणालीमा उसको गम्भीरताप्रति थप शंका जन्माइदिएको छ । 

अनलाइनलाई ऐच्छिक प्रणालीको रुपमा व्याख्या गरेको नेप्सेले फूलफेजको अनलाइनलाई अनिवार्य गर्ने विषयमा अझै धेरै गृहकार्य गर्न बाँकी रहेको समेत यसले देखाउँछ । यसबाट अनलाइनको नाममा सर्वसाधारण लगानीकर्ता कसरी झुक्किए वा झुक्किँदैछन् भन्ने कुरा समेत प्रष्ट हुने विश्लेषकहरु बताउँछन् । 

नेप्सेस्थित एक उच्च स्रोतका अनुसार अनलाइन कारोबार प्रणालीप्रति लगानीकर्ताले अविश्वास गरेका कारण समेत यस्तो भएको हो । 

फूलफेजको अनलाइन कारोबार प्रणाली कार्यान्वयनको समयसीमा भनी तोकिएको मंगलबार समेत अनलाइन प्रणालीबाट ९२ लगानीकर्ताले मात्र कारोबार गरेका पाइएको छ । यसबाट समेत नेप्सेको अनलाइन प्रणालीलाई लगानीकर्ताले पूर्ण असहयोग गरेका देखिएको छ । नेप्सेले पनि लगानीकर्तालाई आश्वस्त पार्ने काम गर्न सकेन । 

यही सन्दर्भमा नेप्सेले अनलाइन कारोबार लागि आवश्यक प्रक्रिया तथा शर्तहरुमध्ये केही बुँदाको विषयमा मंगलबार पुनः थप प्रष्ट पार्न खोजेको छ । उसले जारी गरेको विज्ञप्ति यस्तो छः