काठमाण्डौ । बुधबार पनि नेप्से परिसूचक ८.३४ अंकले घटेको छ । नेप्से परिसूचकमा गिरावट आई नेप्से १२१७.८४ को विन्दूमा सीमित भए पनि कारोबार रकम भने बढेर २७ करोड ३८ लाख माथि पुगेको छ । 

नेप्से परिसूचक निरन्तर घटिरहे पनि मंगलबारको तुलनामा बुधबार बजारलाई कारोबारले केही बलियो साथ दिएको देखिन्छ ।

समयमै पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली नआउने खबरले निराश भएका लगानीकर्तामध्ये अधिकांश मौद्रिक नीतिको प्रतिक्षामा छन् । यो कारणले समेत बजारमा निरन्तर गिरावट आइरहेको विज्ञहरु बताउँछन् । 

नेप्से परिसूचकमा गिरावट आए पनि कारोबार रकम पनि बुधबारको जस्तै बढ्दै गए आत्तिहाल्नुपर्ने अवस्था नहुन सक्छ । सूचक र कारोबार नै समानान्तर हिसाबले घटे भने मात्र त्यो चिन्ताको विषय हुन्छ । 

यो बजारमा ‘क’ वर्गका कम्पनीहरुको कारोबारमा संकुचन आयो । यहीकारण सेन्सेटिभ इण्डेक्स १.७९ अंकले घट्यो भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.६२ अंकको गिरावट देखियो । 

यो दिन बजारका सबै समूहको सूचकमा रातो पोतियो । बैंकिंग समूह ६.४१ अंकले घट्यो भने बिमा, विकास बैंक, माइक्रोफाइनान्स समूहमा क्रमशः ४०.८८, ७.१८ र १०.११ अंकले घटे । यसैगरी, होटल समूह ६.७८ अंकले घट्यो भने जलविद्युत समूह २०.७१, बित्त समूह १.६९, उत्पादनमूलक ३.६५ र अन्य समूह ७.९१ अंकले घटे । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ५६ कम्पनीका २५ लाख ९१ हजार ९ सय ९ कित्ता सेयर २७ करोड ३८ लाख ३२ हजार ९ सय ९२ रुपैयाँमा किनबेच भयो । यो दिन सबैभन्दा बढी ओम डेभलपमेन्ट बैंकले ३ करोड ६१ लाख बढीको कारोबार गर्यो । यसैगरी, मेगा बैंकले २ करोड ७५ लाख, नेपाल बैंकले १ करोड ४६ लाख, छिमेक लघुवित्त विकास बैंकले १ करोड ११ लाख, समता माइक्रोफाइनान्सले १ करोड ८ लाख, नेपाल लाइफ इन्स्योरेन्सले ९० लाख, एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड १ ले ८८ लाख, सिद्धार्थ इक्वीटी ओरिएन्टेड स्किमले ६६ लाख, नागरिक लगानीकोषले ५९ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन एभरेष्ट बैंकको कन्भर्टेड प्रिफरेन्स सेयरको मूल्य सबैभन्दा बढी ४ प्रतिशतले वृद्धि भयो । एक्सेल डेभलपमेन्ट बैंकका लगानीकर्ताले ३.१५ प्रतिशतले सम्पत्ति जोडे ।

यस्तै, यूनाइटेड मोदी हाइडोपावर लिमीटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए । यो कम्पनीको सेयर मूल्य ४.३७ प्रतिशतले घट्यो । उन्नति माइक्रोफाइनान्सका लगानीकर्ताले ४ प्रतिशतले सम्पत्ति गुमाए ।