काठमाण्डौ । साताको दोश्रो कारोबार दिन नेप्से परिसूचक घटेको छ । यो दिन नेप्से परिसूचक ९.३१ अंकले घटेर १३०७.७१ को विन्दूमा सीमित हुन पुगेको हो । 

विगत केही दिनदेखि केही कम्पनीको सेयरमा देखिएको खरीद चाप आज एकाएक घट्दा र त्यस्ता कम्पनीमा उच्च बिक्री चाप देखिँदा त्यसको प्रभाव बजारमा परेको हो । 

यसैगरी, बैंकहरुको आधार दर घटे पनि ऋणको ब्याजदर घट्न नसक्दा समेत लगानीकर्ता उत्साहित बन्न सकिरहेका छैनन् ।

कतिपय विज्ञ तथा जानकारले बजारमा बुल रनको सुरुवात भइसकेको बताइरहे पनि लगानीकर्तामा ह्वीम र हल्लाको व्यापक प्रभाव देखिन्छ । बजार बढेको यही मौकामा ह्वीम र हल्ला फैलाएर बाठाले कुस्त कमाइरहेका छन् भने सोझाहरु फस्ने संभावना बढी देखिन थालेको छ । 

नेप्से परिसूचकमा केही अंकको गिरावट आए पनि कारोबार रकमले भने बजारको साथ छाडेको छैन । यो दिन १ अर्ब २२ करोड भन्दा बढीको कारोबार भएको छ । कारोबार रकमको एंगलबाट हेर्दा बजारमा खरीदबिक्री गर्नेहरु प्रशस्तै रहेका देख्न सकिन्छ । कारोबार रकमको प्रत्येक दिनजसो दरिलो साथ रहेका कारण आत्तिइहाल्नुपर्ने अवस्था होइन । 

सोमबार राम्रा कम्पनीमा बिक्री चाप देखिँदा सेन्सेटिभ इण्डेक्स ०.९९ अंकले घट्यो भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.६८ अंकको गिरावट देखियो । 

यो दिन जलविद्युत समूहको सूचक १६.५ढ अंकले र अन्य समूहको सूचक २.७६ अंकले बढ्यो भने बाँकी सबै समूहको सूचकमा रातो पोतियो । 

यो दिन बैंकिङ समूह ७.२७ अंकले घट्यो भने विकास बैंक, बित्त र माइक्रोफाइनान्स समूहमा क्रमशः २०.३५, १९.९६ र १६.८२ अंकको गिरावट आयो । 

होटल समूह ४.५८ अंकले घटेको यो दिन जीवन बिमा समूह ८५.४४ अंक, निर्जीवन बिमा समूह ११९.२५ अंक र म्युचुअल फण्ड समूह ०.१९ अंकले घटे । 

धेरै कारोबार गर्ने कम्पनी
आज बजारमा १७२ कम्पनीका ३३ लाख ९८ हजार ६८० कित्ता सेयर १ अर्ब २२ करोड ५ लाख ७ हजार ४८५ रुपैयाँमा किनबेच भयो । 

सबैभन्दा बढी शिवम सिमेन्टले २५ करोेड २१ लाख बढीको कारोबार गर्यो । यो कम्पनीमो बिक्री चाप देखिएका कारण यति धेरै कारोबार भएको हो । 

नेपाल बैंकले २३ करोड २१ लाख बढीको कारोबार गरेको यो दिन हिमालयन डिस्टीलरीले ८ करोड २९ लाख, बुटवल पावर कम्पनीले ४ करोड ४७ लाख, नेपाल टेलिकमले ३ करोड ५५ लाख बढीको कारोबार गरे। 

प्राइम कमर्सियल बैंकको २ करोड ९५ लाख बढीको संस्थापक सेयर किनबेच भएको बजारमा अपर तामाकोशीले २ करोड ९० लाख, कृषि विकास बैंकले २ करोड ५४ लाख, प्रभू बैंकले २ करोड १९ लाख र मेगा बैंकले २ करोड ९ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन बजारमा कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमा पोजिटिभ सर्किट लाग्यो । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा बढ्यो । 

मल्टीपर्पोज फाइनान्सको सेयर मूल्यमा पनि १० प्रतिशतकै हाराहारीमा बढोत्तरी भयो । 

सिन्धु विकास बैंकका लगानीकर्ताले ९.२९ प्रतिशत तथा बेस्ट फाइनान्सका लगानीकर्ताले ९.२८ र सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताले ९.०९ प्रतिशतको दरले सम्पत्ति बढाए । 

यो दिन पाँचथर पावरका लगानीकर्ताले धेरै गुमाए । यो कम्पनीको सेयर मूल्य ८ प्रतिशतको हाराहारीमा घट्यो । मिथिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा ७.२५ प्रतिशतको गिरावट आयो ।