काठमाण्डौ । तरलता अभावको समस्या बढ्दै गएपछि र आर्थिक वर्षको अन्तिम महिनामा प्रफिट बुक गर्ने लगानीकर्ताको चाहना तथा सन्निकट मौद्रिक नीतिको प्रतिक्षाका कारण बजारमा दिनहुँ निराशा बढिरहेको छ । 

लगानीकर्ताहरुको मनोबल माथि उठ्न नसक्दा बजारमा निरन्तर गिरावट भइरहेको हो । 

आर्थिक वर्ष सकिनै लाग्दा समेत बैंक तथा वित्तीय संस्थाहरुमा लगानीयोग्य रकमको अभाव छ । लोन दिने पैसा नहुँदा कतिपय बैंकका कर्मचारी फुर्सदिलो भएर दिन कटाउन बाध्य छन् । लगानीयोग्य रकमको चरम अभावकै कारण लगानीकर्ताहरुले सेयरमा लगानी ऋण सहजै पाउन सकेका छैनन् । 

कतिपय विश्लेषकहरुले आर्थिक वर्षको अन्तिम महिनाको प्रभावले समेत बजार घटाउन काम गरिररहेको बताए । समग्र आर्थिक वर्षमा लगानीकर्ताले राखेको प्रफिट टार्गेट बुक गर्ने प्रवृतिले समेत बजारमा यस्तो अवस्थामा देखिएको उनीहरु दाबी गर्छन ।  ‘यो वर्ष यतिसम्म प्रतिशत नाफा बुक गर्ने भन्ने मनोविज्ञानले काम गरेको छ ।’ प्राविधिक विश्लेषक विष्णु बस्याल भन्छन्–‘१३०० माथि बजार गएपछि प्रफिट बुक गर्ने मनोविज्ञानका कारण समेत तल झरिरहेको छ, यो स्वभाविक प्रक्रिया हो ।’ 

नेप्सेलाई हाँक्ने बैंकिङ इण्डेक्समा खासै गिरावट नआएको र लगानीकर्ताले राम्रो रिटर्न दिने कम्पनी छानी छानी लगानी गर्ने स्मार्ट रणनीति अपनाइरहेकोले अत्तालिनुपर्ने अवस्था नरहेको उनको दाबी छ । 

उनले बजारमा लगानीको अझै अवसर रहेकोले बचत पैसा छ भने बिस्तारै बिस्तारै लगानी बढाउन समेत सुझाव दिएका छन् । 

आइतबार के–के भयो ?
साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ११.२८ अंकले घटेर १२५८.२७ को विन्दूमा सीमित भएको छ । 

बलिया तथा राम्रा कम्पनीमा बिक्री चाप देखिँदा सेन्सेटिभ इण्डेक्स १.८४ अंकले घटेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.८१ अंकको गिरावट देखिएको छ । 

यो दिन बैंकिङ समूहको सूचक ७.१३ अंकले घटेको छ भने होटल समूहमा २७.५७ अंक, विकास बैंक समूह ११.९२ अंक, जलविद्युत समूहमा १०.८१ अंक, बित्त समूहमा ६.७१ अंक, निर्जीवन बिमा समूह १११.०३ अंक, उत्पादन तथा प्रशोधन समूह ३५.२९ अंक, अन्य समूहमा ७.१३ अंक, माइक्रोफाइनान्स समूह ३०.२ अंक, जीवन बिमा समूह ३५.४५ अंक र म्युचुअल फण्ड समूह ०.०३ अंकले घटेको छ । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १७४ कम्पनीका १४ लाख ७३ हजार ८०८ कित्ता सेयर ४७ करोड २५ लाख रुपैयाँमा किनबेच भयो । 

सबैभन्दा बढी नेपाल बैंकले २ करोड ९५ लाख बढीको कारोबार गर्यो । यस्तै, शिवम सिमेन्टले २ करोड ५५ लाख, सिद्धार्थ बैंकले २ करोड ५४ लाख, कृषि विकास बैंकले १ करोड ८१ लाख, एनआइसी एशियाले १ करोड ६१ लाख, प्रभू बैंकले १ करोड ४१ लाख, अपर तामाकोशीले १ करोड २४ लाख, प्रिमियमर इन्स्योरेन्सले १ करोड २१ लाख, कुमारी बैंकले १ करोड १५ लाख र नवील बैंकले १ करोड १० लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन नेपाल एग्रो लघुवित्तका लगानीकर्ताले धेरै कमाए । यो कम्पनीको सेयर मूल्य ६.७५ प्रतिशतले बढ्यो । 

महिला सहयात्रा माइक्रोफाइनान्सका लगानीकर्ताले धेरै गुमाए । यो कम्पनीको सेयर मूल्य ८ प्रतिशतको हाराहारीमा घट्यो ।