काठमाण्डौ । दोश्रो बजार संचालक नेपाल स्टक एक्सचेञ्ज(नेप्से) नेतृत्वको शंकास्पद र विवादास्पद भूमिका कारण लगानीकर्ता अत्तालिएका छन् । नेप्सेको नयाँ नेतृत्वले अनलाइन कारोबार प्रणालीको परीक्षण प्रयोग आगामी जेठदेखि मात्र हुनसक्ने र अनलाइन कारोबार प्रणालीको आधा मात्र काम सकिएको भन्दै मंगलबार पत्रकार सम्मेलनमार्फत आफ्नो धारणा सार्वजनिक गरेपछि लगानीकर्ता अत्तालिएका हुन् । 

यसअघिको नेप्से नेतृत्वले कात्तिक २१ गतेदेखि अनलाइन कारोबार प्रणाली सुरु हुने बताएको थियो । तर, नयाँ नेतृत्वले अनलाइन कारोबार प्रणालीको सिस्टम निर्माण तथा अन्य पूर्व तयारीको काम ४ महिना अवरुद्ध भएको भन्दै पहिलो चरणको काम आगामी जेठमा मात्र सकिने र सोही महिनादेखि अनलाइन प्रणालीको परीक्षण थालिने बताएपछि यसले बजारमा नकारात्मक असर पारेको हो । 

कात्तिक २१ गतेदेखि अनलाइन कारोबार प्रणालीको परीक्षण नै भए पनि सुरु होला र बजारमा सकारात्मक तरंग पैदा होला भन्ने आशामा बसेका लगानीकर्ताहरुले नेप्सेको नयाँ कुराले हतोत्साही बनाएपछि त्यसले बजारमा दोहोरो अंकको पहिरो ल्याएको हो । 

बैंक तथा बित्तीय संस्थाहरुको पहिलो त्रैमासको प्रगतिविवरण, नाफा तथा लाभांश क्षमता घटेर चौपट बनिरहेको समयमा अनलाइन कारोबार प्रणाली तत्काल नआउने खबरले लगानीकर्ताको मनोबल थप गिराएको विश्लेषकहरुले बताएका छन् । यहीकारण बुधबार बजार परिसूचक १७.८३ अंकले घटेर १४६६.६२ अंकमा सीमित हुन पुुग्यो । 

यो दिन सबै समूहको सूचकमा रातो पोतियो । बैकिङ समूह १४.३८ अंकले घट्यो भने बिमा र विकास बैंक समूहको परिसूचक क्रमशः १३५.०५ र २१.५१ अंकले घट्न पुुग्यो । यस्तै, होटल समूह ७६.३५, जलविद्युत समूह २८.२५, बित्त समूह ८.४६, उत्पादनमूलक ३.२१, अन्य समूह २.८९ अंक, माइक्रोफाइनान्स समूह २१.५८ र टेडिंग समूह ३.६३ अंकले घट्न पुुगे । 

यो दिन ‘क’ वर्गका कम्पनीको कारोबार कम हुँदा सेन्सेटिभ इण्डेक्स ३.९ अंकले घट्यो भने समग्र कारोबार मापक फ्लोट इण्डेक्स १.३९ अंकले घट्यो । 

धेरै कारोबार गर्ने कम्पनी
बुधबार बजारमा १ सय ६० कम्पनीका १२ लाख ७ हजार ९ सय ७१ कित्ता सेयर ४८ करोड ६४ लाख ४० हजार ४ सय ७१ रुपैयाँमा खरीदबिक्री भयो । 

सबैभन्दा बढी स्ट्याण्डर्ड चार्टर्ड बैंकले ३ करोड २२ लाख बढीको कारोबार गर्यो । नेपाल लाइफ इन्स्योेरेन्सले २ करोड ३१ लाख, प्रभूू बैंकले २ करोड ३० लाख, नेपाल इन्भेष्टमेन्ट बैंकले १ करोड ९४ लाख बढीको कारोबार गरे । राष्टिय बिमा कम्पनी लिमीटेडको १ करोड ९० लाख बढीको संस्थापक सेयर किनबेच भएको बजारमा नेपाल टेलिकमले १ करोड २८ लाख, फरवार्ड माइक्रोफाइनान्सले १ करोड २६ लाख बढीको कारोबार गर्यो । यो दिन धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ४ स्थान वाणिज्य बैंक, २ स्थान बिमा कम्पनी, एक बित्त, एक माइक्रोफाइनान्स, एक जलविद्युत र एक अन्य समूहले कब्जा गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन सबैभन्दा धेरै महुली सामुदायिक लघुवित्त संस्थाले कमायो । यो कम्पनीको सेयर मूल्यमा ४ प्रतिशतको वृद्धि भयो। यस्तै, युनिलिभर नेपाल लिमीटेडका लगानीकर्ताले ३.६१ प्रतिशतले सम्पत्ति बढाउने मौका पाए । 

प्रतिकित्ता २५ रुपैयाँ दरले लाभांश घोषणा गरेको बोटलर्स नेपाल(तराई) लिमीटेडको सेयर मूल्यमा पहिरो गयो । ६ हजार माथि प्रतिकित्ताको सेयरमा २५ रुपैयाँ मात्र लाभांश पाएपछि धेरैले यो कम्पनीको सेयर बिक्री गरे । यहीकारण यो कम्पनीको मूल्यमा १० प्रतिशतको हाराहारीमा पहिरो गयो । लक्ष्मी लघुवित्त बित्तीय संस्थाको सेयर मूल्यमा पनि झण्डै ५ प्रतिशतको हाराहारीमा गिरावट आयो ।