काठमाण्डौ । प्रत्येक दिनको गिरावट नथामिँदा बिहीबार नेप्से परिसूचक घटेर ६ महिनाकै न्यून विन्दूमा झरेको छ । बजारमा अनलाइन कारोबार प्रणाली सुुरुवातको बिषय अनिश्चित बनेपछि बुधबार दोहोरो अंकमा घटेको बजार बिहीबार केही सम्हालिए पनि गिरावटको यात्रा भने रोकिएन। 
नेप्से परिसूचक ५.८९ अंकले घटी  १४६०.७३ विन्दूमा सीमित बन्न पुुग्यो । बजार परिसूचक विगत ६ महिनाको अवधिमा यति न्यून विन्दूमा पुुगेको थिएन । 

अनलाइन कारोबार प्रणाली संचालनको  बिषयमा नेप्से नेतृत्वको कमजोर भूमिका, सेयरको अधिक आपूर्ति लगायतले बजार निरन्तर घटाइरहेको विश्लेषकहरु बताउँछन् । नेप्से परिसूचकसँगै कारोबार रकममा पनि सामान्य गिरावट आएको छ । परिसूचकसँगै कारोबार रकम घट्नुु भविष्यका लागि राम्रो संकेत होइन । यस्तो प्रवृति निरन्तर भए भविष्यमा बजारको गिरावट निरन्तर हुनसक्ने विश्लेषकहरु आँकलन गर्छन । बुधबारको तुलनामा कारोबार रकममा पनि करिब २ करोडले गिरावट आयो । 

यो दिन जलविद्युत समूह ६.५३ अंक र माइक्रोफाइनान्स समूह १.३ अंकले बढ्यो भने बाँकी सबै समूहको सूचकमा गिरावट आयो । बैकिङ समूह ६.७५, विकास बैंक समूह ११.९६, बिमा समूह २४.४५ अंक ,बित्त समूह ७.६४ अंक, उत्पादनमूलक ३, अन्य समूह १.४५ अंक, होटल समूह ९.३४ अंक र टेडिंग समूह १.८६ अंकले घटे । 

‘क’ वर्गका कारोबार मापक सेन्सेटिभ इण्डेक्स १.१९ अंकले घट्यो भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.३६ अंकले घटे । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन १ सय ५४ कम्पनीका १० लाख ४६ हजार ७ सय २३ कित्ता सेयर ४६ करोड ८२ लाख ४ हजार १ सय २१ रुपैयाँमा खरीदबिक्री भयो । यो दिन सबैभन्दा बढी एभरेष्ट बैंकले ३ करोड २० लाख बढीको कारोबार गर्यो । यस्तै, स्ट्याण्डर्ड चार्टर्ड बैंकले २ करोड ५७ लाख, नागबेली लघुवित्त विकास बैंकले २ करोड २० लाख, नवील बैंकले २ करोड ८ लाख, नेपाल लाइफ इन्स्योरेन्सले १ करोड ६० लाख, बैंक अफ काठमाण्डूूले १ करोड ५२ लाख, नेपाल इन्भेष्टमेन्ट बैंकले १ करोड ४४ लाख बढीको कारोबार गरे । यो दिन धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ७ स्थान वाणिज्य बैंक, २ स्थान बिमा कम्पनी र एक स्थान माइक्रोफाइनान्स कम्पनीले कब्जा गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन समता माइक्रोफाइनान्सका लगानीकर्ता मालामाल भए । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा वृद्धि भयो । यो दिन रिलायवल माइक्रोफाइनान्सको मूल्यमा पहिरो गयो । यो कम्पनीको सेयर मूल्यमा ७.६ प्रतिशतले घट्न पुुग्यो । यस्तै, कन्काई विकास बैंकको मूल्यमा समेत ६.४६ प्रतिशतको गिरावट आयो ।