काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जको प्रमुख कार्यकारी अधिकृतको सपना टुटेपछि बैंकर मनोज ज्ञवालीले आउने दिनहरुमा कुनै पनि सरकारी नियुक्तिमा दरखास्त नदिने घोषणा गरेका छन् । 

उनी नेपाल स्टक एक्सचेञ्जको प्रमुखका लागि सरकारले आह्वान गरेको दरखास्त दिनेमध्ये प्रमुख दाबेदार थिए । अन्तिम ३ जनाको सूचिमा नाम परे पनि अन्तिम अवस्थामा भएको तीव्र चलखेलबाट ज्ञवालीको नेप्से प्रमुख हुने सपना टुुटेको थियो । 

बिजशालासँगको अन्तरवार्तामा ज्योति विकास बैंकको डेपुटी सीइओ समेत रहेका ज्ञवालीले सरकारी नियुक्तिमा धेरै कुराको चलखेल हुने आफूले प्रत्यक्ष अनुुभव गरेको र क्षमतावानहरुलाई कसरी पाखा लगाइँदो रहेछ भन्ने घटनाको प्रत्यक्षदर्शी हुन पाएको भन्दै जीवनभर कुनै पनि सरकारी नियुक्तिमा दरखास्त नदिने घोषणा गरेका हुन् । 

‘सरकारी नियुक्तिमा हुने चरम चलखेल, घिनलाग्दो अभ्यास देखेर म चकित भएको छुु ।’ ज्ञवालीले भने–‘आइन्दा कुनै पनि सरकारी नियुक्तिमा मनोज ज्ञवालीले दरखास्त दिनेछैन ।’ 

उनले नेप्सेको प्रमुखको प्रतिस्पर्धामा हरेक प्यारामिटर्समा आफू पहिलो हुने भनेर गएको उल्लेख गर्दै भने–‘मसँग स्पष्ट भिजन थियो । प्रष्ट कार्ययोजना पेश गरेको थिएँ, नेप्सेलाई कायापलट बनाउने सपना थियो । टप ५ को सूचिदेखि ३ को सूचिसम्म पर्दा उत्साहित थिएँ, तर जब मन्त्रीपरिषदमा नाम सिफारिस भयो, त्यसपछि के भयो भन्ने कुरा तपाईसँग सेयर गर्न लायक छैन ।’

उनले आफूमा सरकारी नियुक्ति भन्ने चिजप्रति नै चरम निराशा पैदा भएको प्रष्ट्याए । ‘जब मेरो क्षमतालाई अन्य कुनै कुराले अवमूल्यन गर्यो, त्यसपछि म यति धेरै निराश भए कि यूरोपतिर माइग्रेन्ट हुनुपर्छ कि भन्ने पनि लाग्यो ।’ उनले भने–‘तर, ४० वर्ष नपुुगेको मान्छे, अझै दुनियाँ देख्नुुछ भन्ने लागेर बैकिङ सेक्टरमै समेत धेरै काम गर्न सक्छुु भन्ने आत्मविश्वासले मलाई अगाडि बढायो ।’ 

उनले नेप्सेको अहिलेको वेबसाइटमा सूचिकृत कम्पनीको तथ्याङ्क समेत नराखिएकोमा असन्तुष्टि पोखे । ‘म नेप्से प्रमुख भएर गएको थिएँ भने १० दिनमा कम्पनीहरुको पूरा डाटा राख्थेँ ।’ उनले भने–‘नेप्सेले लगानीकर्ताका लागि आवश्यक डाटा त राख्नुुपर्यो नि । के आधारमा लगानी गर्ने ? हल्लाको भरमा ? साथीभाईले भनेको भरमा ?’ ज्ञवालीले लगानीकर्तालाई चाहिने सूचिकृत कम्पनी सम्बन्धी आधारभूत सूचना नेप्सेले उपलब्ध नगराउँदा बजारमा चलखेलले प्रश्रय पाउने गरेको समेत दाबी गरे ।

उनले लगानीकर्ताले हल्लाको भरमा पूँजीबजारमा लगानी गरिरहेको उल्लेख गर्दै थपे–‘हल्लै हल्लाको भरमा लगानी गर्ने बाध्यता छ, यो त जूवा नै भइहाल्यो नि ।’

उनले नेप्सेलाई स्वायत्त बनाउनुपर्ने र अर्को स्टक एक्सचेञ्ज समेत ल्याएर दुवैलाई खुल्ला प्रतिस्पर्धा गर्न छाडिदिनुपर्ने सुुझाव दिए । यसो गर्न सकिएमा मात्र आम लगानीकर्ताको हित हुने र बजारबाट फाइदा लुट्ने निश्चित गिरोहहरु निरुत्साहित हुने उनको ठहर छ । 

(ज्ञवालीसँगको पूरा अन्तरवार्ता पढ्न बिजशाला डटकम भिजिट गर्दै गर्नुहोला।)