काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको तीसौं वार्षिक साधारणसभाले आ.ब. २०७३/७४ का लागि चुक्तापूँजीको १३.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि नगद लाभांश रु.१,८८,२७,०१० वितरणको प्रस्ताव पारित गरेको छ । 

शुक्रबार सम्पन्न कम्पनीको साधारणसभाले संचालक समितिले गरेको प्रस्तावअनुसार लाभांश पारित गरेको हो । 

सभामा कम्पनीका अध्यक्ष प्रेमा सिंहले आ.व.२०७३/७४ मा कम्पनीले सन्तोषजनक प्रगति गरेको बताउँदै सो वर्ष कूल रु. ५०६ करोड बीमा शुल्क संकलन भएको र रु. १६९ करोड कूल दाबीभुक्तानी गरेको एवम् रु.४१ करोडको खुद मुनाफा आर्जन गरेको जानकारी दिइन् ।

यसैगरी, आ.व. २०७३/७४ को अन्तसम्ममा कम्पनीको कुल लगानी १९.४२ प्रतिशतले बृद्धि भई रु. १६९६ करोड पुगेको छ र कम्पनीको बीमाकोष गत वर्षको तुलनामा २०.८० प्रतिशतले बृद्धि भई २०७४ असार मसान्तसम्ममा रु. १७ अरब २९ करोड पुगेको जानकारी गराइन् ।

सभामा अध्यक्षले कम्पनी पूँजीको हिसाबले समेत सवल भएको र गत साधारणसभाबाट पारित निर्णयअनुसार ६० प्रतिशत हकप्रद शेयर जारी प्रक्रिया सम्पन्न भई समीक्षा वर्षको प्रस्तावित बोनस शेयर समेत गरी कूल चुक्तापूँजी रु.३ अरब भन्दा बढी हुन जाने जानकारी गराइन् ।

कम्पनी आफ्नो शाखाहरु विस्तार गरी थप सुविधायुक्त बनाउनेतर्फ प्रयत्नशील रहेको र यसबाट व्यवसायमा सकारात्मक प्रभाव पारेको सो क्रममा अधिकांशले बताएका थिए ।

सभामा अध्यक्षले लगानी विविधिकरण गरी लामो अवधिको लगानी बृद्धि गरी कम्पनीको प्रतिफल बृद्धि गर्नेतर्फ कम्पनीको प्रयास केन्द्रीत रहेको अवगत गराए । आगामी दिनहरुमा नेपाली बीमा बजारमा थप अद्यावधिक बीमालेखहरु प्रवेश गराउन र आफ्ना ग्राहकवर्गलाई प्रदान गर्ने सेवाको गुणस्तरमा बृद्धि गर्न कम्पनी सदैव प्रयासरत रहने समेत अध्यक्षले सभामा जानकारी गराएकी कम्पनीले जनाएको छ ।