काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म ४ अर्ब ७६ करोड बिमाशुल्क आर्जन गरेको छ । 
अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको बिमाशुल्क आर्जनतर्फको प्रगति २०.८४ प्रतिशतले बढी हो । 

कम्पनीले अघिल्लो वर्ष २२ करोड २० लाखमा सीमित खूद नाफालाई बढाएर ३० करोड ६० लाखको उचाई चुमाएको छ । नाफातर्फ कम्पनीले ३७.८१ प्रतिशतको फड्को मारेको देखिन्छ । 

समीक्षा अवधिसम्म यो कम्पनीको बिमालेख संख्या ७ लाख ८ हजार ३६० कायम भएको छ भने यो अवधिमा कम्पनीले १ अर्ब ८२ करोड दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्ष यही अवधिमा १ अर्ब २७ करोडको दाबी भुक्तानी गरेको थियो । 

यो अवधिमा कम्पनीले पुनर्बिमा कमिसन आयको रुपमा २ करोड ३३ लाख, लगानी, कर्जा तथा अन्यबाट हुने आयको रुपमा १ अर्ब ४८ करोड, बिमालेखको धितोमा कर्जाबाट हुने आयको रुपमा २२ करोड ७७ लाख आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा कम्पनीले पुनर्बिमा कमिसनबाट १ करोड ९३ लाख, लगानी, कर्जा तथा अन्यबाट १ अर्ब १५ करोड, बिमालेखको धितोमा कर्जाबाट १० करोड २२ लाख आम्दानी गरेको छ । 
कम्पनीको जीवन बिमा कोषमा २५ अर्ब २२ करोड जम्मा भएको छ । अघिल्लो वर्षको यही अवधिमा २० अर्ब ३९ करोड मात्र रहेको थियो ।

कम्पनीको महाविपत्ति जगेडामा १९ करोड १२ लाख र जगेडा तथा कोषमा ६८ करोड ७५ लाख जम्मा भएको छ । अघिल्लो वर्षको यही अवधिमा महाविपत्ति जगेडामा १३ करोड ८४ लाख र जगेडा तथा कोषमा ४३ करोड ८१ लाख जम्मा भएको थियो ।