काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमाससम्म ७ अर्ब ८० करोड भन्दा बढी बिमा शुल्क आर्जन गरेको छ । 

अघिल्लो वर्षको यही अवधिको तुलनामा कम्पनीले बिमा शुल्क आर्जनमा २७.१७ प्रतिशतको प्रगति गरेको हो । 

समीक्षा अवधिमा कम्पनीले पुनर्बिमा कमिसनबाट ३ करोड ८२ लाख, लगानी, कर्जा तथा अन्यबाट २ अर्ब ९ करोड, बिमालेखको धितोमा कर्जाबाट ३० करोड ६० लाख बढी आर्जन गरेको छ । 

यो अवधिमा कम्पनीको खूद नाफा ३३ करोड ६३ लाख पुगेको छ । अघिल्लो वर्ष यस्तो नाफा २९ करोड ८३ लाखमा सीमित थियो । 

समीक्षा अवधिमा कम्पनीले २ अर्ब ५० करोड बढीको दाबी भुक्तानी गरेको छ । 

यो अवधिसम्म कम्पनीमा ७ लाख २१ हजार ८ वटा बिमालेख रहेको छ। 

घोषित मुनाफाको दर ६३ देखि ८२ रुपैयाँको उचाईमा पुगेको छ । यस्तो दर अघिल्लो वर्षको यही अवधिसम्म ६१ देखि ८० रुपैयाँमा सीमित थियो । 

अघिल्लो वर्ष ५० करोड ६८ लाखमा सीमित जगेडा तथा कोषको आकार बढेर ९१ करोड ८६ लाखको उचाइमा पुगेको छ भने २१ अर्ब ८२ करोडमा सीमित जीवन बिमा कोष बढेर २७ अर्ब १९ करोडको उचाईमा पुगेकोछ। 

यस्तै, १४ करोड ६० लाखमा सीमित महाविपत्ति जगेडाको आकार बढेर २१ करोड ६९ लाख पुगेको छ । 

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी  ११.१८ रुपैयाँ(लेखापरीक्षण नभएको), प्रतिसेयर नेटवर्थ १३०.५५ रुपैयाँ र मूल्य आम्दानी अनुपात ५२.३१ गुणा कायम भएको छ ।