काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडले आगामी कात्तिक २४ गते वार्षिक साधारणसभा आह्वान गरेको छ । 

असोज २४ गते शुक्रबार अपरान्ह बसेको कम्पनीको ४१८ औं बोर्ड बैठकले ३१ औं वार्षिक साधारणसभा कात्तिक २४ गते बिहान १०ः३० बजे लाजिम्पाटस्थित नेशनल लाइफकै भवनमा बस्ने निर्णय गरेको हो । 

यो साधारणसभाले आर्थिक वर्ष  २०७४/७५ को वार्षिक प्रतिवेदन उपर छलफल गर्ने बताइएको छ । 

कम्पनी सचिव सुरेशप्रसाद खत्रीका अनुसार संचालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम ३ अर्ब ७४ लाख ४० हजार ५३५ रुपैयाँको १२ प्रतिशतको दरले नगद लाभांश साधारणसभाले स्वीकृत गर्नेछ ।

यस्तै, चुक्तापूँजीको २.५ प्रतिशतको दरले बोनस सेयर वितरणको प्रस्ताव तथा बोनस सेयरको कर प्रयोजनका लागि आवश्यक ३९ लाख ५७ हजार १ सय ५८ रुपैयाँ बराबरको नगद लाभांश वितरणको प्रस्तावको विषयमा समेत साधारणसभाले निर्णय लिनेछ ।

यस्तै, यो वार्षिक साधारणसभाले कम्पनीमा रहेको सेयर संरचना परिवर्तनको महत्वपूर्ण प्रस्ताव समेत पारित गर्नेछ । हाल यो कम्पनीमा संस्थापक सेयरधनी समूहको ६५ प्रतिशत र सर्वसाधारण सेयरधनी समूहको ३५ प्रतिशत सेयर स्वामित्व रहेको छ । यो संरचनालाई परिवर्तन गरी सर्वसाधारण सेयरधनी समूहको४९ प्रतिशत र संस्थापकको ५१ प्रतिशत कायम गर्न प्रबन्धपत्र र नियमावलीमा आवश्यक संसोधन प्रस्ताव समेत पारित हुने बताइएको छ ।

कम्पनीले ३१ औं वार्षिक साधारणसभा प्रयोजनका लागि आगामी कात्तिक १० गतेदेखि सेयर दाखिला खारेज(बुक क्लोज) गर्नेछ । 

यसको अर्थ यो कम्पनीबाट घोषित लाभांश पाउन तथा साधारणसभामा सहभागी हुनका लागि कात्तिक ९ गतेभित्र सेयर किनेर सेयरधनी कायम भइसक्नुपर्नेछ ।