काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडले आफ्ना सेयरधनीलाई बम्पर सेयर घोषणा गरेको छ । 

आर्थिक वर्ष २०७२/७३ को नाफाबाट ३० प्रतिशत बोनस सेयर र १ सय प्रतिशत हकप्रद सेयरको बम्पर घोषणा गरिएको हो । 

मंगलबार नेपाल स्टक एक्सचेञ्जमा प्रकाशित सूचनाका अनुसार कम्पनीको बोर्ड बैठकले ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५८ प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको छ । कम्पनीले १ सय प्रतिशत हकप्रद निश्कासनको घोषणा समेत गरेको हो । 

यो इन्स्योरेन्स कम्पनीले आगामी मंसिर २९ गते २८ औं वार्षिक साधारणसभा आयोजना गर्दैछ । १०० प्रतिशत हकप्रद र ३० प्रतिशत बोनसको यो निर्णय साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीले पाउनेछन् । 

अघिल्लो वर्ष यो बिमा कम्पनीले आफ्ना सेयरधनीलाई ३० प्रतिशत बोनस सेयर वितरण गरेको थियो । 

यो बिमा कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५ करोड ५ लाख खूद नाफा आर्जन गरेको छ । यसको चुक्तापूँजी १ अर्ब १ करोड रुपैयाँ रहेको छ । ३० प्रतिशत बोनस सेयर वितरणपछि चुक्तापूँजी १ अर्ब ३१ करोड रुपैयाँ पुग्नेछ । त्यसपछि जारी हुने एकसय प्रतिशत हकप्रदपछि चुक्तापूँजी २ अर्ब ६२ करोड पुग्नेछ ।