काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्सका लगानीकर्ताहरुले एउटै वर्ष ट्रिपल अफरको लाभ उठाउन पाउने भएका छन् । 

नेशनल लाइफ इन्स्योरेन्सको २८ औं वार्षिक साधारणसभा चुक्तापूँजीको सतप्रतिशत हकप्रद निश्कासनको पारित प्रस्तावमा संचालक समितिले परिमार्जनको निर्णय गरेपछि लगानीकर्ताहरु मालामाल हुने भएका हुन् । 

यो कम्पनीले आर्थिक वर्ष ०७१/७२ को मुनाफाबाट ३० प्रतिशत बोनस चालु वर्षमै लगानीकर्तालाई वितरण गरिसकेको छ । कम्पनीले सतप्रतिशत हकप्रदलाई परिमार्जन गरी ७५ प्रतिशत हकप्रद र २५ प्रतिशत बोनसमा रुपान्तरण गरेपछि यही वर्ष सेयरधनीले थप २५ प्रतिशत बोनस सेयरको समेत अर्को अफर पाउने भएका हुन् । कम्पनीले एक सूचना प्रकाशित गर्दै बिमा समितिको चुक्तापूँजी वृद्धि सम्बन्धी नयाँ व्यवस्थाका कारण सतप्रतिशत हकप्रदलाई केही परिवर्तन गरिएको प्रष्ट पारेको छ । 

कम्पनीको २०७३ मंसिर २९ गते सम्पन्न वार्षिक साधारणसभाले १ अर्ब ३२ करोड ४८ लाख ६३ हजार ६ सय ७० रुपैयाँ बराबरको हकप्रद निश्कासनको प्रस्ताव पारित गरेको थियो । नियामक निकाय(बिमा समिति)ले भने ०७५ असार मसान्तसम्म जीवन बिमाको काम गर्ने कम्पनीको चुक्तापुँजी २ अर्ब हुनुपर्ने व्यवस्स्था गरेपछि पूँजी पर्याप्तताका कारण समेत हकप्रदलाई ७५ प्रतिशत कायम गरी सेयरधनीलाई लाभ हुने गरी २५ प्रतिशत बोनस दिइने निर्णय गरिएको कम्पनी सचिव सुरेशप्रसाद खत्रीले जनाएका छन । 

अब यो कम्पनीले ३३ करोड १२ लाख १५ हजार ९ सय २० रुपैयाँ बराबरको लाभांश सेयरधनीलाई बाँड्नेछ भने ९९ करोड ३६ लाख ४७ हजार ७ सय ५० रुपैयाँ बराबरको हकप्रद वितरण गर्नेछ । संसोधित प्रस्ताव पारित गर्न आगामी वार्षिक साधारणसभामा पेश गरिनेछ । 

वार्षिक साधारणसभाबाट पारित भई बिमा समितिले समेत स्वीकृति दिएपछि लगानीकर्ताले ट्रिपल अफरको फाइदा लिन पाउनेछन् ।