काठमाण्डौ । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ३ अर्ब ८८ करोड रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ।

कम्पनीले समीक्षा अवधिसम्ममा गत वर्षको यही अवधिसम्मको तुलनामा ३०.२७ प्रतिशतले खुद बिमा शुल्क आर्जन बढाउन सफल भएको हो। अघिल्लो वर्षको यही तुलनामा कम्पनीले २ अर्ब ९८  करोड रुपैयाँमात्र खुद बिमा शुल्क आर्जन गरेको थियो। 

कम्पनीले पुनर्बिमा कमिसनबाट हुने आय १ करोड ४६ लाख रुपैयाँबाट बढेर १ करोड ९० लाख रुपैयाँ पुगेको छ । लगानी, कर्जा तथा अन्यबाट हुने आय ९६ करोड ४५ लाख रुपैयाँबाट बढेर १ अर्ब १८ करोड रुपैयाँ पुगेको छ। 

बिमालेखको धितोमा कर्जाबाट हुने आय अघिल्लो वर्ष १ करोड १४ लाख रहेकोमा बढेर यो वर्ष १ करोड ७२ लाख रुपैयाँ माथि पुगेको छ। 

समीक्षा अवधिमा कम्पनीले १ अर्ब २५ करोड रुपैयाँबराबरको दाबी भुक्तानी गरेको छ। अघिल्लो वर्ष यही अवधिमा १ अर्ब १८ करोड रुपैयाँ दाबी भुक्तानी गर्नुपरेको थियो। 

यो अवधिमा कम्पनीको खुद नाफा २३ करोड ५८ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यस्तो नाफा १७ करोड ११ लाख रुपैयाँ रहेको थियो। 

समीक्षा अवधिमा कम्पनीको जीवन बिमा कोषको आकार ३० अर्ब १५ करोड रुपैयाँको पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा जीवन बिमा कोषको आकार २३ अर्ब ७१ करोड रुपैयाँको थियो। 

जगेडा तथा कोषको आकार ९५ करोड ५१ लाख रुपैयाँबाट घटेर ६९ करोड ६ लाख रुपैयाँमा सीमित बन्न पुगेको छ। 

महाविपत्ति कोष जगेडाको आकार १७ करोड ९१ लाख रुपैयाँबाट बढेर २४ करोड ५ लाख रुपैयाँको उचाइमा पुगेको छ। 

समीक्षा अवधिसम्ममा कम्पनीमा बिमालेखको संख्या ८ लाख ४ हजार ५४० रहेको छ। अघिल्लो वर्ष यही अवधिमा ७ लाख १४३ मात्र थियो। 

समीक्षा अवधिमा कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी १५.३० रुपैयाँ, प्रतिसेयर नेटवर्थ १२२.०४ रुपैयाँ, पीई अनुपात ३६.४६ गुणा र प्रतिसेयर कुल सम्पत्तिको मूल्य ११८४.२५ रुपैयाँ रहेका छन्।