चरम महंगी बढेको बेला कसैकोमा नोकरी गर्नु सबैभन्दा ठूलो चुनौतिको बिषय बनेको छ अहिले । तलबका लागि मोलतोल गर्नुपर्ने, त्यो भन्दा अघि आफू अनुकुल जागिर खोज्नुपर्ने, यस्ता झञ्झटबाट अहिलेका सबै युवा पुस्ता बच्न चाहन्छन् । आफ्नो क्षमता अनुकुल व्यवसायमै रमाउने उनीहरुको उद्देश्य हुन्छ । तर जागिर नै खानेहरुका लागि भने कसरी बढी पैसा पाउने वातावरण बनाउने भन्ने बिषयमा केही महत्वपूर्ण टिप्स यहाँ प्रस्तुत गरिएको छ । 
 

सन् २०१५ मा गरिएको एक सर्वेक्षण अनुसार ३८ प्रतिशत अमेरिकन ग्राजुएट्स नोकरी गर्ने क्रममा मालिकले जति तलब अफर गर्छन, त्यति नै स्वीकार गरेर काम गरिरहेका हुन्छन् । जागिर दिने हरेक कम्पनीले आफ्नोमा काम गर्न आउने कामदारले तलबको बिषयमा मोलमोलाई गरोस् भन्ने चाहना राख्छन्, जसले कम्पनीले जति भन्यो त्यति नै तलबमा काम गर्ने तत्परता देखाउँछ, त्यस्तो कामदारलाई कम्पनी संचालकहरु नराम्रो दृष्टिले हेर्ने गर्छन । उसो भए अब सवाल उठ्छ, नोकरी खोज्ने क्रममा आफूले पाउने तलबमा कसरी मोलमोलाई गर्ने, जसले तपाईँले राम्रो तलब स्केल पनि पाउनुहोस् र तपाईलाई जागिर खाने क्रममा कुनै दिक्दारी पनि नहोस् । सौदाबाजी गर्न कमजोरहरुले त यो कुरा अझ धेरै जान्नुपर्दछ, किनकि तपाईले गरेको श्रमको उचित मूल्य पाउनु तपाईको हक हो र तलब स्केल र तपाईको स्ट्याण्डर्डले तपाईंको करिअरलाई पनि धेरै प्रभाव पारिरहेको हुन्छ । आउनुहोस् पढौं राम्रो तलब पाउनका लागि जान्नुपर्ने केही टिप्सहरु :

तयारी गरी जानुहोस्
अन्तर्वार्ताका लागि जाँदै हुनुहुन्छ भने तपाईंले राम्रो तयारी गर्नुपर्ने हुन्छ । जुन पदका लागि तपाईं अन्तर्वार्ता दिन जाँदै हुनुहुन्छ, त्यो पदका लागि बजारमा औसत कति तलब तथा के कस्तो सेवासुविधा दिइने गरिएको छ भन्ने कुरा बुझनुहोस् । तपाईको जस्तै पदमा कुनै अर्को कम्पनीले कति तलब दिइरहेको छ भन्ने कुरा पनि बुझ्न जरुरी हुन्छ । आफन्त, तपाईंका नजिकका साथीभाईसँग पनि यो बिषयमा बुझ्न सक्नुहुनेछ । जुन कम्पनीमा तपाई काम गर्न जाँदै हुनुहुन्छ, त्यहाँका कुनै पुराना कर्मचारीसँग तपाईंको संगत वा चिनजान भए उनीहरुसँग समेत अन्य कुरा बुझ्दा फाइदा हुन्छ । कारण यस्ता कर्मचारीले तपाईलाई कम्पनीको काम, त्यहाँको माहौल र तलब स्केल तथा अन्य सेवासुविधाको विषयमा जानकारी दिनसक्छन । अर्कोतर्फ जसका कारण तपाई कुनै पदमा जागिर खान इच्छुक भएर जाँदै हुनुहुन्छ त्यस्तो व्यक्ति वा कम्पनीसँग पनि तपाईंले कुरा गर्नु उत्तम हुनेछ । अर्कोतर्फ कुनै कम्पनीको नोकरी दिन वा त्यस्तो अवसरको व्यवस्थापन जुराइदिने एजेन्सीलाई समेत आफूले काम गर्न चाहेको कम्पनी, त्यसले उपलब्ध गराउने तलब तथा सेवा सुविधाको बिषयमा जानकारी लिन सकिन्छ, कारण यस्ता एजेन्सीसँग यस्ता विषयमा पर्याप्त ज्ञान हुन्छ । यस्ता कम्पनीसँग तलबको बिषयमा समेत राम्रो अन्दाज हुन्छ । यस्ता कम्पनीले रोजगार दिने कम्पनीसँग पनि राम्रोसँग तपाईको हितको पक्षमा कुरा गरिदिन सक्छन् । नेपालमा समेत रोजगार दिने कम्पनी र रोजगार खोज्नेबीच सम्बन्ध बनाइदिने विभिन्न एजेन्सीहरु खुलेका छन्, यस्ता प्लेटफर्मलाई तपाईं आफू अनुकुल प्रयोग गर्न सक्नुहुनेछ । नेपालकै केही कम्पनीका अधिकारी हरेक आर्थिक वर्षको सुरुवात वा अन्तमा अलग अलग कम्पनीका विभिन्न पदहरुमा फेरबदल भइरहेको तलब तथा सेवासुविधाको विषयमा आफूहरुले बजार सर्वेक्षण गरी पर्याप्त जानकारी राख्ने र यसले आफूसँग समन्वयको अनुरोधसहित आउन बेरोजगारहरुका लागि निकै ठूलो सहयोग पुर्याउन सकिने बताउँछन । यदि यस्ता कम्पनीसँग तपाईंले खोजेको जानकारी पाउनुभएन भने कुनै दोश्रो कम्पनीमा तपाई प्रवेश गर्न चाहेको पदमै काम गर्नेसँग समेत तलब तथा सेवासुुविधाको बिषयमा जानकारी प्राप्त गर्न सकिनेछ । तर तपाईं जुन कम्पनीमा काम गर्न खोजिरहनुभएको छ, सो कम्पनीको कुनै पनि सिनियर कर्मचारीसँग तपाईले पाउने तलब र सेवासुविधाको बिषयमा सवाल–जवाफ गर्ने गल्ती नगर्नु होला । 

कम्पनी बारे जानकारी जुटाउनुहोस्
जुन कम्पनीमा तपाईं काम गर्न जाँदै हुनुहुन्छ, त्यसको तलब संरचनाको बिषयमा मात्र जानकारी लिनु पर्याप्त हुन्न । त्यहाँको कामको माहौल, जस्तो ओभरटाइम गर्न पाइन्छ कि पाइन्न, साताको छुट्टी मिल्छ कि मिल्दैन जस्ता बिषयमा जानकारी पत्ता लगाउनु पनि उत्तिकै आवश्यक हुन्छ । ओभरटाइम काम गर्दा अतिरिक्त आम्दानी हुन्छ वा एउटै तलबमानमै काम गर्नुपर्ने हो, कम्पनी नाफामा जाँदा कामदारहरुलाई बोनस दिन्छ कि दिंदैन, वर्षैपिच्छे तलब बढाउने चलन छ कि छैन जस्ता विषय पनि जान्न जरुरी हुन्छ । यदि तपाईं आफूले पाउने तलबमा राम्रो ढंगले सौदाबाजी गर्न चाहनुहुन्छ भने तपाईंलाई सम्बन्धित कम्पनीको बिषयमा पर्याप्त जानकारी हुन आवश्यक छ, यो जानकारीले तपाईको अन्तर्वार्ता लिने मान्छे समेत राम्रैसँग प्रभावित बन्नेछ । कम्पनीले कर्मचारी राख्नुपर्दा तीन कुरामा ध्यान दिने गर्छ, पहिलो उम्मेद्वार कत्तिको काबिल छ, अरु भन्दा तपाईं नै के हिसाबले उत्तम हुनुहुन्छ ?, र, अर्को तपाईलाई काममा राख्नु कम्पनीका लागि फाइदाको सौदा हुन्छ वा आर्थिक बोझ मात्र । फिलिप गार्ड नामको एक अन्तर्राष्टिय एजेन्सीले कम्पनीलाई जस्तै रोजगार खोज्नेलाई समेत आफ्नो काबिलपन र पैसा माग्ने क्षमता कति हो भन्ने कुरा महसुस हुन आवश्यक छ । 

स्मार्ट बन्नुहोस्
तपाईले आफ्नो बारेमा, कम्पनीको बारेमा जति उत्तम ढंगले भन्नुहुन्छ, यसले जागिर दिनेहरुलाई प्रभावित पार्न सहज हुन्छ । अन्तर्वार्ता लिनेले तपाईंले पाउने तलबको बिषयमा अफर दिनुअघि नै तपाईले आफ्नो अपेक्षाको बिषयमा प्रष्ट पार्नुपर्छ । यसमा तपाईले तलबको अपेक्षा मात्र प्रस्तुत नगर्नुहोस् । तपाईले आफ्नो कुराकानीको क्रममा बजारको चलन, आफ्नो क्षमता र काम अरुभन्दा उत्कृष्ट ढंगले गर्नसक्ने अलग किसिमको क्षमताको बिषयमा समेत प्रष्ट भन्नुपर्दछ । साथै तपाईंले यो विश्वास दिलाउनुपर्छ कि, तपाईं सो कम्पनीमा निकै लामो समयसम्म काम गर्ने गरी र कम्पनीलाई समेत हित हुने अवधारणासहित काम गर्न खोजिरहनुभएको छ । यदि अन्तर्वार्तामै तपाईंले राम्रो प्रभाव छाड्न सक्नुभयो भने तपाई आफ्नो तलब बढाउने मामलामा पनि सफल बन्नुहुनेछ । 

आफ्नो मूल्य भन्नुहोस्
तपाई अन्तर्वार्तामा हुँदा आफूले विगतमा हासिल गरेका उपलब्धिको बिषयमा खुलेरै भन्नुहोस् । तपाईले यसअघि काम गरेको कम्पनीमा तपाईंकै भूमिकाका कारण कसरी पैसा बचाइदिनुभयो वा नयाँ सिस्टम विकास गरी कसरी त्यो कम्पनीको आम्दानी बढाउन तपाईंले भूमिका खेल्नुभयो भन्ने बिषयमा प्रष्ट भन्ने गर्नुहोस् । यदि तपाई सेल्स टिममा हुनुहुन्थ्यो भने तपाईंले प्रष्ट भन्नुपर्छ कि तपाईको नेतृत्वको टिमले कम्पनीको टारगेट भन्दा धेरै विजिनेश कसरी हासिल गर्यो ? यस्ता कुराहरु प्रस्तुत गर्दा तपाईले अन्तर्वार्ताको क्रममा तपाईको मूल्य स्पष्ट रुपमा भनिरहनुभएको हुनेछ । तपाईंको यो जानकारीले तपाई अगाडि भएको मानिसले तपाईंको मूल्य कति हो भन्ने कुरा प्रष्टसँग बुझिरहेको हुन्छ । यो प्रस्तुतीले तपाईले पाउने तलबको मोलमोलाईमा निकै ठूलो सहयोग पुगिरहेको हुन्छ । उसले तपाईंलाई नोकरीमा राख्दा के फाइदा पाउँछ भन्ने कुरा प्रष्ट बुझ्न जरुरी हुन्छ । 

सुरुमै डिमाण्ड नभन्नुहोस्
जानकारका अनुसार अन्तर्वार्ताको दौरानमा सुरुमै आफ्नो तलबको अपेक्षा बताइहाल्नु श्रेयस्कर हुन्न । कहिलेकाही तपाईंले हतारमा आफ्नो तलब स्केल भनिदिंदा कम्पनीले तपाईंको अपेक्षा भन्दा पनि बढी दिने मन बनाइरहेको हुन्छ, यो हतारोले तपाईंलाई घाटा पुग्न सक्छ । त्यसकारण पहिला कम्पनीको अफरलाई धैर्य गरी सुन्ने र बुझ्ने कोशिश गर्नु नै उत्तम हुनेछ । 

अर्कोतर्फ अन्तर्वार्ताको क्रममा अधिकांशलाई हाल पाइरहेको तलब स्केल सोधिने गरिन्छ । यस्तो प्रश्नको सामनाका लागि तपाईंले पूरा तयारी गर्नुपर्ने हुन्छ । विज्ञकाअनुसार यदि तपाईंले पनि हाल कार्यरत कम्पनीमा तपाईले पाइरहेको तलब स्केल सोधियो भने यसको सिधा जवाफ नदिनुहोस् । बरु यसको साटो, तपाईले आफ्नो ओहोदा र तपाईंजस्तै क्षमता भएका मानिसले बजारमा कतिदेखि कतिसम्म तलब पाइरहेका छन् भन्ने कुरालाई चलाख्याईपूर्वक प्रस्तुत गर्नुहोस् । तपाईंले बजारको शैली अनुसार तलबको अधिकतम स्तरमै जोड दिनु श्रेयस्कर हुन्छ । 

नोकरी किन परिवर्तन गर्न चाहनुहुन्छ ?
नोकरी परिवर्तनको कारण व्यक्तिपिच्छे फरक फरक हुनसक्छ । ब्रिटेनको करियर एक्सपोर्ट सेजविक यो बिषयमा बहुत सटिक सल्लाह दिन्छन् । यदि तपाई पैसाकै लागि नोकरी बदल्न चाहिरहनुभएको छ भने तपाईं जमेरै सौदाबाजी गर्न आवश्यक हुन्छ । तपाईंले आफूले कतिसम्म कम तलबमा चाहि तपाई काम गर्न तयार हुनुहुन्छ भन्ने कुरा समेत दिमागमा सेट गर्न आवश्यक हुन्छ । तर कतिपयले भने राम्रो करिअर बनाउन, तथा काम गर्ने राम्रो माहौलका लागि समेत नोकरी परिवर्तनको सोंच बनाएका हुन्छन्, यस्ता व्यक्तिहरुले भने तलबमानको बिषयमा धेरै सौदाबाजी गर्नतर्फ जोड नदिनु नै उचित हुन्छ । यस्ता व्यक्तिले आफूले खोजेको कामको माहौलको बिषयमा समेत कुरा गर्न सक्छन । यदि तपाई हाल थोरै तलबमा समेत काम गर्न राजी हुनुहुन्छ भने तपाईंको तलब कति महिना वा समयपछि पुनरविचार हुन्छ भन्ने बिषयमा पनि कुरा गर्न नभुल्नुहोस् । यसले अहिले तपाईंलाई जे कमी महसुस हुन्छ, कम्तीमा पुनरविचारको क्रममा त्यो कमी पूरा हुने अपेक्षा हुन्छ र यसले तपाईको उत्साहलाई जोगाइराख्छ ।