कोलकाता । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नोटबन्दीको घोषणाका कारण सबैभन्दा धेरै मार एप्पल कम्पनीको आइफोनलाई परेको छ । नोटबन्दीका कारण कम्पनीको बिक्री लक्ष्य तथा लक्षित आम्दानी समेत नराम्ररी प्रभावित भएको इकोनोमिक टाइम्सले जनाएको छ । 

अक्टोबर र नोभेम्बरको बम्पर बिक्रीपछि विशेष गरी नगदको कमीका कारण आइफोनको खरीदारीमा कमी आएको हो । पहिलो २ महिनाको बिक्रीबाट सिंगो त्रैमासको बिक्री दमदार हुने अपेक्षा गरिएको थियो, जुन विपरीत भइदियो । 

किन्नेहरुको कमीकै कारण कम्पनीले सन् २०१६ अक्टोबरदेखि सन् २०१७ सेप्टेम्बरको बिक्री टार्गेटलाई ३ मिलियन डलरबाट घटाएर २ मिलियन डलरमा झार्नु परेको छ । 

भारतमा ८० प्रतिशत आइफोनको खरिदारी नगदमा हुने गरेको छ । तर नोटबन्दीका कारण डिसेम्बरमा नगद कारोबारका एक प्रकारको सीमा लगाइएको थियो । एप्पल कम्पनीका केही वरिष्ठ अधिकारीहरुले इकोनोमिक टाइसम्ससँग भनेका छन् ःसन् २०१६को मे महिनामा एप्पलका सीइओ टिम कुकुले भारतको भ्रमण गरेका थिए र सो बेला उनले ३० लाख थान आइफोन बिक्रीको टार्गेट दिएका थिए, जुन टार्गेट हासिल हुन अब मुश्किल छ । 

बजार विज्ञका अनुसार एप्पलले डिसेम्बरसम्म ८ देखि ९ लाख आइफोन भारत पठाएको थियो । रिटेलर्सहरुका अनुसार नोटबन्दीका कारण सेलफोनको बिक्रीमा ३० देखि ३५ प्रतिशतसम्मको गिरावट आएको छ । यसका साथै एप्पलको ग्रोथमा ५० प्रतिशत बढीले कमी आएको छ । एप्पलका एक अधिकारीले भने-'बिक्री बढाउने निकै ठूलो दवाब छ । यसकारण आइफोनको बिक्रीलाई बढाउनैका लागि उपभोक्तालाई विभिन्न अफर दिन थालिएको छ, तर यसले कम्पनीको खर्च बढाइदिएको छ र नाफाको मार्जिन घटेको छ ।' 

बिक्रीमा आएको कमीकै कारण भारतमा आफ्नो आम्दानी बढाउनका लागि एप्पलले भारतमै आइफोन बनाउने योजनालाई शीघ्र र तीव्र रुपमा अगाडि बढाउनुपर्ने देखिन्छ । तर यो बिषयमा के भइरहेको छ भन्ने बारेमा एप्पलका अधिकारीहरुले मुख खोलिसकेका छैनन् । विश्लेषकहरुका अनुसार सामसंग कम्पनीको आगामी दमदार फोन सिरिजको लञ्चिङपछि आइफोनको बिक्रीमा अझ कमी आउनसक्छ ।