-रमेश लम्साल 

नेपाल विद्युत् प्राधिकरणले रणनीतिक महत्वका नौ प्रसारण लाइन चालू आर्थिक वर्षको अन्त्यसम्म निर्माण सम्पन्न गर्ने भएको छ । निर्माणाधीन आयोजनामा उत्पादित बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा ल्याउनका लागि महत्वपूर्ण मानिएका ती आयोजनाको कामको गति युद्धस्तरमा अगाडि बढेको जानकारी दिँदै प्राधिकरणले ऊर्जा क्षेत्रले थप सकारात्मक प्रभाव पर्ने विश्वास लिएको छ । 

रुग्ण आयोजना निर्माण सम्पन्न गरेपछि प्रसारण लाइनको निर्माण, विस्तार, संस्थागत सुशासन र विद्युत् चुहावट नियन्त्रणमा लागेको तथ्य पेश गर्दै प्राधिकरणले चालू आर्थिक वर्षमा थप हुने विद्युत्को व्यवस्थापनका लागि योजनाबद्ध तवरले लागिपरेको जनाएको छ । 

कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार चालू आवमा सम्पन्न हुने प्रसारण लाइनमा सिङ्गटी–लामो साँघु प्रसारण लाइन रहेको छ । कूल १३२ केभी क्षमताको सो प्रसारण लाइनमा देखिएको समस्या समाधान गरी चालू आवमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । 

यस्तै वनको जग्गा प्रयोग तथा रुख काट्ने समस्याबाट आजित भएको सोलु करिडोर प्रसारण लाइन तोकिएको समयमा पूरा गर्ने लक्ष्य राखिएको छ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सो प्रसारण लाइनमा देखिएको समस्या साधनका लागि आफँै लाग्ने प्रतिबद्धता देखाउनुभएकाले आयोजना चालू आवमा नै सकिने प्राधिकरणको विश्वास रहेको कार्यकारी निर्देशक घिसिङले जानकारी दिनुभयो । 

उदयपुरमा वन क्षेत्रको जग्गा प्रयोगमा सबैभन्दा बढी समस्या देखिएको सो आयोजना चालू आवभित्रै जसरी भएपनि सम्पन्न गर्नुपर्ने दबाबमा प्राधिकरण छ । ऊर्जा उद्यमीसँग भएको विद्युत् खरीद सम्झौताअनुसार प्रसारण लाइनका कारण उत्पादित विद्युत् खेर गएको अवस्थामा ४५ प्रतिशत हर्जना तिर्नुपर्ने शर्त रहेकाले पनि समस्या समाधान गरेर प्रसारण लाइन सम्पन्न गर्नैपर्ने दबाबमा प्राधिकरण छ । 

यस्तै प्राधिरकणले चालू आवमा सम्पन्न गर्ने लक्ष्य राखेका प्रसारण लाइनमा दाना–कुश्मा, दोर्दी करिडोर, भरतपुर–बर्दघाट, मस्र्याङ्दी–काठमाडौँ, चिलिमे–त्रिशूली, समुन्द्रटार–त्रिशूली थ्री बी केन्द्र, कोशी करिडोरको इनरुवा–तुम्लिङटार खण्ड रहेको छ । अधिकांश प्रसारण लाइन निर्माणमा वन क्षेत्रको जग्गा प्रयोग, स्थानीयको माग सम्बोधन तथा प्रसारण लाइनको क्षेत्र परिवर्तनलगायतका मागका कारण समस्यामा परेको छ । 

आर्थिक वर्ष २०७२/७३ सम्ममा विद्युत् प्रसारण लाइनको सञ्जाल दुई हजार ९११ सर्किट किलोमिटर पुगेको छ । गत आवमा मात्रै ७५७ सर्किट किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न  भएको थियो । लामो समयदेखि रुग्ण बनेको काबेली करिडोरसहित प्रसारणतर्फ तीन र वितरणतर्फ ३४ गरी कूल ३७ रुग्ण आयोजना आर्थिक वर्ष २०७५/७६ मा सम्पन्न भएको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले जानकारी दिनुभयो । 

सरकारले निर्माणाधीन प्रसारण लाइन निर्माणलाई तोकिएको समयमा पूरा गर्न देखिएका सबै प्रकारका समस्या समाधानका लागि प्राधिकरणलाई स्पष्ट मार्गनिर्देशन गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आयोजनामा देखिएका समस्या स्थलगतरुपमा नै गएर समाधान गर्न कार्यकारी निर्देशकलगायतका कर्मचारीलाई स्पष्ट निर्देशन दिनुभएको छ । मन्त्री पुनः प्राधिकरण सञ्चालक समितिको अध्यक्ष हुनुहुन्छ । 

मन्त्रालयको स्पष्ट निर्देशन र सरकारले लिएको आर्थिक समृद्धिको प्रमुख आधारका रुपमा ऊर्जा क्षेत्र रहेकाले प्रसारण लाइन निर्माणलाई प्राधिरकणले रणनीतिक महत्वमा राखेको छ । सोही लक्ष्यअनुसार आगामी २०७९ भित्र सबै नेपालीलाई विद्युत् सेवा पु¥याउन प्रसारण लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । 

भारतर्फ नियमित विद्युत् निर्यात 

प्राधिकरणले भारतबाट विद्युत् खरीद मात्रै गरेको छैन । नियमितरुपमा विद्युत् निर्यात गरिरहेको छ । दैनिक ४० देखि ४५ मेगावाट विद्युत् विहार निर्यात भइरहेको छ । 

उहाँले भन्नुभयो, “उताबाट पनि औपचारिकरुपमा माग भई आएकाले हाल दैनिकजसो नै ४० देखि ४५ मेगावाट विद्युत् निर्यात भइरहेको छ ।” प्राधिकरणले गत साउनको अन्तिम साता २५० मेगावाट भारत पठाई इनर्जी बैंकिङको अभ्यास गरेको थियो । कार्यकारी निर्देशक घिसिङले भारतबाट विद्युत् आयात गर्ने मात्रै नभई निर्यात भइरहेको जानकारी दिँदै चालू आर्थिक वर्षको अन्त्यसम्म त्यसको मात्रा बढ्ने बताउनुभयो । 

हाल रक्सौल–परवानीपुर प्रसारण लाइनमार्फत विद्युत् निर्यात भइरहेको छ । प्राधिरकणले कटैया कुशाहा १३२ केभी दोस्रो सर्किट र रक्सोल परवानीपुर १३२ केभी प्रसारण लाइनको निर्माण सम्पन्न गरी नेपाल र विहारबीच विद्युत् आदानप्रदानको क्षमता विस्तार गरिएको छ ।