काठमाण्डौ । पुरुषहरुको दबदबा रहेको विश्वको सेयर बजारमा यदि कुनै फूल टाइमर महिला कारोबारी छिन् भने तिनको चर्चा हुने स्वभाविक हो । लरेन सिमोन्स, न्यूयोर्क स्टक एक्सचेञ्जकी सबैभन्दा कान्छी फूलटाइमर महिला कारोबारी हुन् । सिमोन्सको उमेर २३ वर्ष मात्र हो र उनी रोसेनब्लेट सेक्युरिटिज कम्पनीका लागि इक्वीटी ट्रेडरको काम गर्छिन् । अमेरिकी न्यूज पोर्टल सिएनबिसीसँगको कुराकानीमा सिमोन्सले भनेकी छिन्–‘जब मानिसलाई म आफ्नो जागिरको बिषयमा बताउँछु, त्यसबेला मानिसहरु छक्क पर्छन् ।’ 

उनको भनाईमा यदि ५ वर्षअघि मात्रै उनले आफू वाल स्ट्रीटमा काम गर्छु भनेर भन्थिन भने उनी आफैंलाई समेत यसको भरोसा हुने थिएन । 

सन् २०१६ डिसेम्बरमा ग्राजुएसन गरिसकेपछि सिमोन्सलाई उनका अभिभावकले न्यूयोर्क लगेका थिए । जर्जियामा रहने सिमोन्सले कलेजको दौरान स्थानीय क्लिनिकल ट्रिटमेन्ट सेन्टरमा इन्टर्नको रुपमा काम गरेकी थिइन् । त्यसबेला उनी जेनेटिक्स बिषयमा बिए अध्ययन गर्दै थिइन्, जसमा सानो अंशमै भए पनि तथ्याङकशास्त्र पढ्नुपथ्र्यो । पहिला उनको योजना मेडिकल फिल्डमा केही गर्ने भन्ने थियो, तर पछि अनुभूत भयो कि मेडिकल क्षेत्र उनको प्यासन होइन । यहीकारण सिमोन्सले अर्को क्षेत्रमा अवसरको खोजी सुरु गरिन् ।

सिमोन्सले फाइनान्स क्षेत्रमा अवसरको खोजी थालेकी थिइन् । उनलाई हाइस्कूल लेभलबाटै तथ्याङ्कको खेल मन पथ्र्यो । रोसेनब्लेट सेक्युरिटीजको अहिलेको जागिर उनलाई लिङ्क्डइनको माध्यमबाट प्राप्त भएको थियो । लरेन सिमोन्सले संख्या तथा आँकडाप्रति लगावकै कारण आफू न्यूयोर्क स्टक एक्सचेञ्जमा आइपुगेको बताउँछिन् । 

सिमोन्सले सन् २०१७ को मार्चदेखि आफ्नो काम सुरु गरिन्, तर उनले अचानक सिरिज १९ पास गर्नुपर्ने भयो । सबै फ्लोर ब्रोकर्सहरुले आफ्नो स्तर हासिल गर्न यो परीक्षा उत्तीर्ण गर्न आवश्यक छ । सिमोन्सलाई यो परीक्षाका लागि एकमहिनाको मात्र समय थियो, तर उनले यही अवधिमै आफूलाई प्रमाणित गरेरै छाडिन् । 

सिमोन्सको भनाईमा महिलाहरुका लागि बित्तीय क्षेत्र अझै पनि काम गर्ने बिषयमा चुनौतिपूर्ण नै छ । सन् १९६७ मा मुरियल सिबर्ट फ्लोरमा कारोबार गर्ने पहिलो महिला भएकी थिइन् । त्यसबेला त महिलाका लागि कुनै शौचालय नै हुँदैन थियो, यहीकारण एक्सचेञ्जले फ्लोरमा एउटा सिङ्गल बाथरुम बुथ बनाइदियो । सिमोन्सले भनेकी छिन्, जब शौचालयको यो रमाइलो कथा उनले सुनिन्, त्यसैबाट प्रेरित भएर उनले एकमहिनाको तयारीबाटै सिरिज १९ पास गरिन् । 

हाल त्यहाँ महिलाहरुका लागि एक स्तरीय डेडिकेटेड बाथरुम बनाइएको छ । 

सिमोन्सका अनुसार उनले सेयर कारोबारको दौरान तोकिएको एक ज्याकेट लगाउनुपर्छ, जुन महिलाहरुलाई ध्यानमा राखेर बनाइएको होइन । दुर्भाग्यवश पुरुषको साइजमै आएको ज्याकेटलाई मिलाएर लगाउनुपर्ने उनको बाध्यता छ ।

न्यूयोर्क स्टक एक्सचेञ्जको कारोबारस्थलको लुक्समा बितेको ५० वर्षमा ठूलो परिवर्तन आएको छैन । तर, यस्तो संकेत आएको छ, जसबाट लाग्छ कि अब ठूलै परिवर्तन हुनेवाला छ । जुन महिनामा स्टेसी कनिङ्घमलाई एक्सचेञ्जको प्रेसिडेन्ट बनाइएको छ । एक्सचेञ्जमा कुनै बेला इन्टर्न रहेकी कनिङ्घम १९७२ मा एक्सचेञ्ज बनेपछिकै पहिलो महिला प्रेसिडेन्ट हुन् । यहीकारण सिमोन्स आफू निकै उत्साहित रहेको बताउँछिन् । ‘कनिङ्घम एक पुरुष भन्दा पनि क्षमतावान छिन्, सायद पुरुषभन्दा पनि बढी ट्यालेन्ट ।’ सिमोन्सले भनेकी छिन्–‘मलाई लाग्छ कि नयाँ परिवर्तन हुनेवाला छ । महिला प्रेसिडेन्ट भएको कुरा र मेरो कथा समेत पढेर अन्य महिलाहरु समेत सेयर बजारमा आउन लालायित हुन् भन्ने चाहना राखेकी छु ।’ 

सिमोन्सले वालस्ट्रिटमा आएर करिअर बनाउन हरकोही तयार रहन र विशेषगरी महिलाहरु समेत तयार रहन आग्रह गरेकी छिन्, किनकि त्यहाँ अवसरको कुनै लिमिट छैन।