काठमाण्डौ । एनआइसी एशिया बैंक लिमीटेडका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालले पदबाट दिएको राजीनामा स्वीकृत गर्दै बैंक संचालक समिति बैठके रोशनकुमार न्यौपानेलाई कामु सीइओको जिम्मेवारी दिएको छ । 

बैंकमा सहायक प्रमुख कार्यकरी अधिकृतको रुपमा कार्यरत उनलाई कामुको जिम्मेवारी दिइएको हो । 

न्यौपानेले बैंकको दीर्घकालीन योजना तथा रणनीति तर्जुमा र कार्यान्वयनमा कुशल तथा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको बैंकले जनाएको छ । प्रमुख आन्तरिक लेखापरीक्षकको रुपमा तत्कालीन बैंक अफ एशिया नेपाल लिमिटेडबाट बैंकिङ्ग क्षेत्रमा प्रवेश गरेका न्यौपाने एनआइसी एशिया बैंकलाई देशकै अग्रणी बैंकहरुमध्येको एक बैंकको रुपमा स्थापित गराउने अभियानका मुख्य अभियन्ता समेत हुन् ।

हाल एनआइसी एशिया मुलुकभर १० लाख भन्दा बढी सेवाग्राहीहरुको बैंक बन्न सफल भएको छ । यसैगरी, जम्मा १८४ शाखा तथा १८७ एटीएमसहित निजी क्षेत्रको सवैभन्दा बढी शाखा सञ्जालबाट बैंकले बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ । 

न्यौपानेको नेतृत्वमा बैंकलाई थप ग्राहकमैत्री बनाई बैंकिङ्ग सेवामा उत्कृष्टता हासिल गर्ने बैंकको विश्वास रहेको छ ।

नवनियुक्त बंैकका का.मु. प्रमुख कार्यकारी अधिकृत न्यौपानेले बैंकका ग्राहकहरुलाई उत्कृष्ट, सरल एवं सुलभ बैकिङ्ग सेवा प्रदान गरी सर्वाङ्गिण आर्थिक समृद्घिका लागि एक उत्कृष्ट बैंक पनि साथी पनि बन्ने बैंकको महाअभियानमा प्रतिबद्ध रहने वचन दिएका छन् ।