काठमाण्डौ । औद्योगिक घराना पञ्चकन्या समूहद्वारा  प्रवद्र्धित पञ्चकन्या माई हाइड्रो पावरले २७ करोड ५० लाख मूल्य बराबरको सेयरको प्राथमिक निश्कासन(आइपीओ) गर्ने भएको छ । 

पञ्चकन्या माई हाइड्रो पावरले सर्वसाधारण र आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि २७ करोड ५० लाख मूल्यको २७ लाख ५० हजार कित्ता सेयर आइपीओ गर्ने भएको हो । आइपीओ निकट भविष्यमै जारी हुने बताइएको छ । 

यो कम्पनीले इलामको माबु, माईमझुवा, र सुलुबुङ्ग गाविसमा अप्पर माई जलविद्युत आयोजनाबाट ९.९८ मेगावाट बिद्युत उत्पादन गरिसकेको छ । हालै यो आयोजनालाई १२ मेगावाटमा क्षमता बृद्धि गरिएको छ । साथै ६.१ मेगावाट क्षमताको माथिल्लो माई सी(क्यास्केड) जलविद्युत आयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ । 

सार्वजनिक  निश्कासन हुन लागेकोमध्ये पञ्चकन्या माई हाइड्रो पावरको आयोजना प्रभावित गाविसका बासिन्दालाई ११ करोड रुपैयाँको ११ लाख कित्ता सेयर दिइनेछ भने सर्वसाधारणका लागि १६ लाख ५० हजार कित्ता सेयर छुट्याइएको छ । 

आइपीओका लागि कम्पनीले बिहीबार एनसिएम मर्चेन्ट बैंकिङ्ग लिमिटेड तथा नबिल इन्भेष्टमेन्ट बैकिङ्ग लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरिएको जनाएको छ । 

आइपीओ निश्कासन तथा व्यवस्थापन सम्झौतामा हाइड्रो पावरका तर्फबाट कार्यकारी निर्देशक सन्तोषकुमार प्रधान तथा एनसिएम मर्चेन्ट बैकिङ्ग लिमिटेडका तर्फबाट प्रबन्ध संचालक बिजयलाल श्रेष्ठ र नबिल इन्भेष्टमेन्ट बैकिङ्ग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविणरमण पराजुलीले हस्ताक्षर गरेका छन् ।