काठमाण्डौ । पञ्चकन्या माई हाइड्रोपावर लिमीटेडले निश्कासन गरेको आइपीओमा दोश्रो दिनसम्म ३७ करोड बढीको आवेदन परेको छ । 

कम्पनीले निश्कासन गरेको ११ करोड रुपैयाँको आइपीओ दोश्रो दिनसम्ममा ३.३६ गुणा बढी आवेदन परेको हो ।

देशभरबाट कुल ५२ हजार जनाले आइपीओ खरीदका लागि आवेदन दिएका बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमीटेडले जनाएको छ । 

पञ्चकन्या माई हाइड्रो पावरले साउन १ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निश्कासन गरेको हो । 

आइपीओ खरीदका लागि साउन ४ गतेसम्म आवेदन दिइसक्नुपर्नेछ । इच्छुक लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम ५ हजार ५ सय कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । 

आस्वा सेवा संचालनको अनुमति पाएका बैंक तथा बित्तीय संस्था र तिनका शाखाबाट आइपीओका लागि अनलाइन आवेदन दिन सकिनेछ ।

यो जलविद्युत कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि कुल पूँजीको १० प्रतिशतको दरले आइपीओ निश्कासन गरेको थियो । त्यसपछि सर्वसाधारणका लागि समेत १० प्रतिशत सेयरकै सार्वजनिक निश्कासन गरेको हो । 

यो कम्पनीले इलामको माबु, माईमझुवा, र सुलुबुङ्ग गाविसमा अप्पर माई जलविद्युत आयोजनाबाट ९.९८ मेगावाट बिद्युत उत्पादन गरिसकेको छ ।

हालै यो आयोजनालाई १२ मेगावाटमा क्षमता बृद्धि गरिएको छ । साथै ६.१ मेगावाट क्षमताको माथिल्लो माई सी(क्यास्केड) जलविद्युत आयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

१८.१ मेगावाट क्षमताको आयोजनाको प्रतिमेगावाट लागत १८ करोड ४० लाख रुपैयाँ रहेको छ।  

इक्रा  नेपालले कम्पनीलाई आइपिओ ग्रेड ४ को रेटिङ दिएको छ, यसको अर्थ औसत भन्दा कमजोर आधार रहेको कम्पनी भन्ने बुझिन्छ ।