-भक्तराज रसाइली
काठमाण्डौ । पूँजी अभाव र युवा शक्ति बैदेशिक पलायन विकासोन्मुख मुलुकको दूर्भाग्य र बिडम्बनापूर्ण अवस्था  हो । तर, स्वदेशमा नै थोरै पूँजीबाट केही सुरु गर्छु भन्ने युवाहरुका लागि पछिल्लो समय नेपालको पूँजीबजार सहज प्रवेशमार्ग बनिरहेको छ । न्यूनतम १ हजारबाट जुनसुकै समय सहज ढंगले प्रवेशको एकमात्र विकल्प बनिरहेको सेयरबजारको भीडमा एक युवाको कथालाई यो पटक समेट्नने प्रयास गरेका छौ । 

सुनसरीको इटहरी स्थायी घर भई काठमाण्डौ २९ घट्टेकुलोमा बसोबास गर्दै आएका चेतनाथ लुइँटेल २०६९ सालदेखि सेयर बजारका सक्रिय युवा लगानीकर्ता हुन् । 

डेढ वर्षदेखि वकिल पेशा र सक्रिय लगानीकर्ताको समेत छवि बनाएका उनी एमएड उत्तीर्ण हुन् । पढेको विषयभन्दा पनि बेग्लै प्रोफेसन बनाएका उनी २०६० सालमा अध्ययनकै सिलसिलामा राजधानी प्रवेश गरेका थिए । 

काठमाण्डौमा रहँदा रेडिमेड कपडाको खुद्रा तथा होलसेल व्यवसाय गर्दै अध्ययनलाई अगाडि बढाएका उनले आफन्त साथीभाइकै कारणले सेयर बजारमा आकर्षित भई होमिएको बताए ।

सुरुमा सिटिजन्स बैंकको २५ कित्ता आइपीओबाट सुरुवात गरेका लुइँटेलले दोस्रो बजारमा भने प्राइम बैंकको १ हजार कित्ता प्रतिकित्ता ३ सयका दरले खरिद गरेर सुरु गरे । 

स–सानो लगानीलाई नै बढाउँदै उनले आफ्नो पोर्टफोलियो अहिले १ करोडभन्दामाथि पुर्याइसकेका छन् । 

कम्पनी खरिदमा छनौट, अवस्था र लगानी विविधिकरणमा निकै चनाखो हुनुपर्ने उनको अनुभव छ । 

नियमित कारोबारमा सक्रिय रहे सेयर बजारले दैनिक १०/२० हजार कमाइ दिनसक्ने बताउने उनले दैनिक ४ घण्टाको समय सेयर बजारलाई नै दिने गरेको बताए । १० जना प्रमोटरसहित अढाई करोड चुक्ता पूँजीमा खोलिएको मनिमोर इन्भेष्टमेन्ट प्रा.लि.का संस्थापक समेत हुन् उनी । 

वकिल पेशामा सेवाग्राहीलाई आश्वस्त तुल्याउनुपर्ने, तर सेयर बजारमा चाहिँ आफैं मन्थन गरेर लगानी गर्नुपर्ने सुनाउँदै लुइँटेल कर्पोरेट लयर भएकै कारण कम्पनीहरुको विश्लेषणमा सहयोग पुगिरहेको र २ वटा डुंगामा नभई एउटै डुंगामा यात्रा गरिएको दाबी गर्छन् ।

इन्ट्री र एक्जिट सही समयमा सेयर बजारमा गर्न सके जीवनयापनको अर्को व्यवसाय बन्न सक्छ भन्ने तर्क राख्दै उनले भने–‘सबै युवा बिदेश गए स्वदेशमा बस्ने को हो ? हुन त दर्शन जस्तो लाग्ला, देश कसैले बनाउने हैन । शैक्षिक बेरोजगार, भ्रष्टचार लगायत थुप्रै समस्याले देश गाँजिएको छ, यद्यपि मुलुक हामीले नै हो बनाउने ।’

आम युवाहरुलाई हचुवाका भरमा लगानी नगरी आइपीओबाट सेयर बजारमा छिर्न उनले आग्रह गरे । आफूले उल्लेख्य प्रगति नगरेता पनि इन्भेष्टमेन्ट कम्पनी खडा गरिएको र कानून व्यवसायीका रुपमा चिनिन पनि सेयरबजारले धेरथोर मद्धत गरेको उनको भनाइ छ । 

नेप्सेमा सूचीकृत कम्पनीहरुका सञ्चालक र सीइओहरुबाट सेयरमूल्यमा उत्तारचढाव गराउने भित्री सूचनाहरुमा नियामक नेप्से र सेबोनको मौन सहमति र स्वीकृतिले थप मलजल पुगिरहेको उनको आरोप छ । 

कम्पनीले सूचना चुहाउँदा र लुकाउँदा, एजीएम समयमा नगर्दा पनि नेप्से र सेबोनले उक्त कम्पनीलाई ठूलो सजाय नगर्दा लाखौं लगानीकर्ताहरुको अरबौं रकम जोखिम र धरापमा परिरहेको उनको बुझाई छ । 

नेप्से र सेबोनकै चरम लापरवाही र हेल्चेक्र्याईँकै कारणले नेप्से र बोर्डको भूमिकामाथि शंका उत्पन्न गराएको उनले आरोप लगाए । 

‘सायद यस्तै सन्देहपूर्ण भूमिका नेप्से र सेबोनको भएका कारणले नै आन्दोलन, घेराउ कार्यक्रमहरु भएका हुन् ।’ उनी भन्छन् ।

अहिले बैंकलाई ब्रोकर लाइसेन्स दिंदा उपत्यका केन्द्रित गराउने भन्ने सुन्नमा आएको र बैंकले ब्रोकर लाइसेन्स पाएपछि ७७ जिल्लाका सबै स्थानीय तहमा जाँदैन भने यसको औचित्य नहुने लुइँटेलको धारणा छ । उनले थपे–‘बैंकले ब्रोकर लाइसेन्स पाएपछि सबै स्थानीय तहमा पुगे मात्र पूँजी बजारको विस्तार हुन्छ । उपत्यकामा मात्र बैंक लाइसेन्स वितरण गरियो भने लगानीकर्ताले फेरि अर्को आन्दोलन उठाउनुपर्छ ।’

म्युचुअल फण्डलाई दिइँदै आएको आइपीओमा ५ प्रतिशत आरक्षणको व्यवस्था अविलम्ब खारेज हुनुपर्ने उल्लेख गर्दै यसले लगानीकर्ताहरुमा द्वेष र भेदभावको अवस्था सिर्जना गरेको र यो व्यवस्था तत्काल सच्याउन उनले धितोपत्र बोर्डलाई आग्रह गरे ।

यथार्थमा सेयर बजार बाहिर देखिएजस्तो सजिलो नभएको र कमाउनेमा थोरै र गुमाउनेमा धेरै हुने गरेका आफ्नो अनुभव उनले सुनाए ।

टार्गेटसहितको नाफा बृहत अध्ययन अनि इन्ट्री र एक्जिट समय व्यवस्थापन गर्न सकिए मात्र सेयरमा सफलता पाइने उनको सुझाव छ । 

लगानीको हिस्सालाई अल्पकालीन र दीर्घकालीनमा छुट्याई लगानी गरिरहेका उनले दीर्घकालीन लगानीबाट नसोचेको प्रतिफल पनि कहिलेकाहीं पाइने र अल्पकालमा ५ प्रतिशत प्रोफिट टार्गेट लिने गरेको लुइँटेलको अनुभव छ । अल्पकालमा हाइ रिस्क हाइ गेन हुने भन्दै सचेत भई सुझबुझपूर्ण रुपमा गरिएको लगानीले राम्रो प्रतिफल समेत पाइने उनको भोगाई छ ।

यस्तै, युवाहरुले स्वदेशमा स्वउद्यम गरिरहे मुलुकले आर्थिक सम्पन्नता हासिल गर्नसक्ने प्रबल सम्भावना रहन्छ । युवाहरुले स्वदेशमा नै लगानीको वातावरण सिर्जना गर्न नेपाल सरकारले समेत आवश्यक वातावरण बनाउनुपर्छ र मुलुकभित्र युवालाई उद्यमशील बनाउन सरकार समेत अग्रणी भूमिकामा खरो रुपमा उत्रनु विकल्प छैन।