काठमाण्डौ । नेपालमा पढ्ने तथा विदेशमा गएर पढ्न चाहानेहरुको लागि खुसीको खबर । भर्खरै स्थापना भएको सोसियल इनोभेसन हब विकास उद्यमीले ‘पढ्न जाने’ नामको मोबाइल एप्लिकेसन सार्वजनिक गरेको छ । 

यसमा नेपाल तथा विदेशका विभिन्न विश्वविद्यालयहरु तथा तिनमा रहेका विभिन्न कोर्सहरु¸ छात्रवृत्तिहरु सँगै आवेदन दिने विभिन्न प्रकृयाहरुको बारेमा जानकारी पाउन सकिन्छ । यसको सार्वजनिकरण कार्यक्रममा अष्ट्रेलियाको लागि नेपाली राजदूत लक्की सेर्पा, खेलकुद मन्त्रालय अन्तर्गत राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुंगेल र गेट कलेजका सीइओ खेम लकाईको सहभागिता रहेको थियो । कार्यक्रममा काठमाडौँ उपत्यकाका विभिन्न कलेजहरुमा अध्ययन गर्ने १५० भन्दा धेरै विद्यार्थीहरूको उपस्थिति थियो ।

एन्ड्रोइड मोबाइलको गुगल प्ले स्टोरमा हेर्न सकिने यो अनलाइन स्रोतले नेपाल¸ अमेरिका¸ जापान र अष्ट्रेलियमा उच्च शिक्षा पढ्न चाहने विद्यार्थीहरूलाई प्राविधिक तथा व्यावसायिक शिक्षा र ट्रेनिङ ईन्स्टिच्युटहरु, कलेज¸ युनिभर्सिटी र छात्रवृत्तिका अवसरहरू खोज्न सहयोग पुर्याउने उद्देश्य लिएको छ । यसका साथै एप्लिकेसन प्रक्रिया¸ विदेश जान चाहिने सामाग्रीहरू तथा विदशमा बस्दा बिचार पुर्याउनुपर्ने कुराहरूको बारेमा पनि यसले जानकारी दिन्छ । 

विद्यार्थीहरूले यसमा आफ्नो खाता बनाउन¸ मनपरेको शैक्षिक संस्था¸ छात्रवृत्ति र अन्य जानकारीहरुलई फेबरेट बनाएर सेभ गर्न सक्छन् । एकीकृत क्यालेन्डर र प्लानर सुविधाबाट डेडलाईनहरु सकिन लागेको बारेमा नोटिफिकेसन आउँछ । 

पढन् जाने एप्लिकेसनको प्रयोगबाट विकास उद्यमीले छरिएर रहेका उच्च शिक्षाका अवसरहरुलाई एकै ठाँउमा ल्याउँदै त्यसको जरुरी पर्ने विद्यार्थीहरुलाई एकै ठाँउबाट अपडेटेड सूचनाहरुको पँहुच दिने उद्देश्य लिएको छ । यसले विद्यार्थीहरूलाई आफूले पढ्ने विषय¸ युनिभर्सिटी र स्रोत तथा साधनहरूको बारेमा आवश्यक तयारी गर्न  पनि सहयोग गर्नेछ । पढ्न चाहनेहरु सूचनाकै कारणबाट पढ्नमा वञ्चित नहुन् भन्नेनै यसको प्रमुख उद्देश्य हो । चाँडैनै यो अनलाइन स्रोतले अन्य देशहरु थप्ने तथा नेपालमा पिछडिएका वर्गबाट पढ्न चाहनेहरुलाई छात्रवृत्ति सुविधाको पनि व्यवस्था गर्ने बताइएको छ । बिकास उद्यमीले यो एप्लिकेसन युवाहरुबाट भर्खरै सुरु भएको ‘टेककुञ्ज’ आईटी कम्पनी सँगको सहकार्यमा विकास गरेको हो ।