काठमाण्डौ । योग गुरु बाबा रामदेवको पतञ्जली समूहले अब पहिरनको क्षेत्रमा हात हाल्ने भएको छ । 

समाचार एजेन्सी पीटीआईका अनुसार बाबा रामदेवले आइतबार एक पत्रकार सम्मेलन गरी युवाहरुको मागलाई ध्यानमा राखेर विदेशी ब्राण्डलाई समेत टक्कर दिने उद्देश्यले पतञ्जली समूहले स्वदेशी(भारतीय) जिन्स पेश गर्ने फैसला गरेको बताएका छन् । 

उनले भनेका छन्–‘समयसँगै भेषभूषा बदलिन सक्छ । अब हामी स्वदेशी कपडा मात्रै लाउँछौ र विदेशी पहिरनहरुको समेत स्वदेशीकरण गर्छौ । त्यही भएर हामी जिन्सलाई स्वदेशीकरण गर्नेछौ ।’ 

रामदेवले आगामी दिनमा पतञ्जली समूहले जुत्ताचप्पल समेत तयार गर्नसक्ने संकेत दिएका छन् । उनका अनुसार पतञ्जलीले निकट भविष्यमै खाद्य तेल र ट्वाइलेट क्लिनरसँग सम्बन्धित उत्पादनहरु समेत बजारमा लिएर आउनेछ । 

पतञ्जली समूह भारतबाहिर अन्तर्राष्ट्रिय बजारमा समेत आफ्ना उत्पादनहरुको संभावनाको खोजी गरिरहेको छ । स्रोतका अनुसार उनको कम्पनीले पाकिस्तान र अफगानिस्तानमा समेत राम्रो बजार जमाउन सक्नेछ । 

बाबा रामदेवले पत्रकार सम्मेलनमा भनेका छन्–‘पाकिस्तान र अफगानिस्तानमा प्रवेश कहिलेदेखि हुने भन्ने बिषय त्यहाँको राजनीतिक अवस्थामा निर्भर हुनेछ । यदि सबै कुरा ठीकठाक चल्यो भने केही महिनाभित्रै त्यहाँ हाम्रो युनिट सुरु हुनेछ ।’ 

पतञ्जली समूहले नेपाल र बंगलादेशमा निकै अगाडिदेखि नै उत्पादन गरिरहेको छ र त्यहाँको उत्पादन साउदी अरबसहित कयौं खाडी मुलुकमा निर्यात भइरहेको छ । रामदेवले भनेका छन् कि उनको कम्पनीले वार्षिक ५० करोड हजारसम्मको कारोबारको लक्ष्य चुम्नु छ ।