काठमाण्डौ । धेरै मल्टिनेशन कम्पनीलाई विजिनेशमा पछारेपछि बाबा रामदेवले पतञ्जलीका प्रोडक्टहरुलाई चीन लगायतका मुुलुकहरुमा समेत निर्यात गरी त्यहाँ समेत विजिनेश जमाउने योजना बनाइरहेका भारतीय संचारमाध्यमले जनाएका छन् । 

रामदेवको कम्पनी पतञ्जली आयुर्वेदले सरकारको ‘एक्ट इस्ट पोलिसी’को साथमा काम गर्दै भारतदेखि पूर्वी देशहरुमा आफ्नो विजिनेश बढाउने रणनीति तयार गरेको छ । पतञ्जली आयुर्वेदले झारखण्डको साहिबगञ्ज जिल्लामा प्रोडक्सन युनिट खोल्ने योजना समेत बनाएको छ । यो जिल्लालाई केन्द्र सरकारले ‘मल्टि–मोडल हब’ बनाउने तयारी गरिरहेको छ । सरकारले यो इलाकालाई दक्षिण एशियाली देशहरुसँग जोड्न जल, हवाई र सडक मार्ग निर्माणको कामलाई समेत प्राथमिकता दिइरहेको छ । 

एक भारतीय मिडियाले लेखेको छ–‘पतञ्जली आयुर्वेद कम्पनी सिपिङ एण्ड वाटरवेज मन्त्रालयसँग पूर्वी एशियाली देशहरुमा सामान निर्यात गर्ने उद्देश्यले साहिबगञ्जस्थित मल्टिमोडल टर्मिनलको प्रयोगलाई लिएर छलफल चलाइरहेको छ । यो टर्मिनलको प्रयोग गरी पतञ्जली आफ्ना उत्पादनहरुलाई चीन, म्यान्मार, बंगलादेश तथा अन्य दक्षिण पूर्वी एशियाली देशहरुमा निर्यात गर्ने योजनामा छ । जलमार्गमार्फत कम्पनीले निर्यात गर्न सके यसबाट कम लागतमा सहज व्यापार हुने समेत देखिएको छ ।’ 

अहिलेसम्म झारखण्डमा गंगा किनाराको एक जिल्लाको पहिचानमा सीमित साहिबगञ्ज पतञ्जलीका उत्पादनलाई बंगलादेश र म्यानमारसम्म पुर्याउने केन्द्र बन्नसक्ने देखिएको छ । पतञ्जलीका प्रवक्तालाई उद्धृत गर्दै मिडिया रिपोर्टमा भनिएको छ–‘हामीले झारखण्ड सरकारसँग यो बिषयमा कुराकानी गरिरहेका छौ । हामीले पहिला औद्योगिक विकासको काम गर्नेछौ । साहिबगञ्ज जिल्ला हाम्रो कम्पनीका लागि रणनीतिक लोकेसन साबित हुनेछ ।’ 
हाल चीनका निर्यात आधारित उद्योग कमजोर बन्दै गइरहेका छन्, भारतले यही मौका छोपेर पतञ्जलीलाई त्यहाँ प्रवेश गराउने रणनीति अनुसार काम भइरहेको बताइएको छ । चीन समेत भारतमा मजदूर खर्च कम हुने भएकोले यसका कारण समग्र उत्पादन खर्च कम हुने र यसबाट भारतका उत्पादनसँग प्रतिस्पर्धा गर्न नसकिने हो कि भन्ने चिन्ताले समेत ग्रस्त भइरहेको भारतीय मिडियाले दाबी गरेका छन् । हालै चीनको सरकारी अखबार ग्लोबल टाइम्सले पनि यही कुरातर्फ संकेत गर्दै लेखेको थियो–‘चीनको उत्पादनशील क्षेत्रले भारतको बढ्दो क्षमताको बिषयमा ध्यान दिनुपर्ने हुन्छ ।’