काठमाण्डौ । चर्चित योगगुरु बाबा रामदेवको पतञ्जली आयुर्वेदले आफ्नो कारोबारलाई पछिल्लो एक वर्षमा दोब्बर बनाएको छ । आर्थिक वर्ष २०१५-१६ मा यो कम्पनीको कुल कारोबार ५ हजार करोड रुपैयाँको थियो, जुन २०१६-१७ मा बढेर १० हजार करोडको उचाईमा पुगेको छ ।

भारतीय मिडियाहरुका अनुसार यो कम्पनीले १ हजार ४ सय ६७ करोड भारु बराबरको घिउको र ९४० करोड बराबरको टुथपेस्टको व्यापार गरेको छ । बिहीबार एक कार्यक्रममार्फत दोब्बर प्रगति हासिल भएको तथ्यांक सार्वजनिक गरेका बाबा रामदेवले पतञ्जलीले निकट भविष्यमै रेष्टुरेन्टसँग सम्बन्धित व्यापार समेत थाल्ने उद्घोष गरे ।

पत्रकार सम्मेलनमा प्रस्तुत बाबा रामदेवलाई उद्धृत गर्दै मिडियाहरुले जनाए अनुसार आर्थिक वर्ष २०१५ १६ मा पतञ्जली आयुर्वेदले १० हजार ६ सय ५१ करोड भारु बराबरको कारोबार गरेको छ । यस्तै, कपालको तेलसँग सम्बन्धित उत्पादनबाट यो कम्पनीले वर्षभरमा ८ सय २५ करोड भारु बराबरको कारोबार गर्न सफल भएको छ । यस्तै, फेसवासबाट २ सय २८ करोड कमाई भएको बताइएको छ ।

यो कम्पनीको उत्पादनमध्ये भारतमा स्याम्पुको मार्केट सेयर १५ प्रतिशत, टुथपेस्टको १४, फेसवासको १४, महको  ५० प्रतिशत कायम भएको छ ।

रामदेवले हाल हरेक वर्ष ४० हजार करोड रुपैयाँ बराबरको उत्पादन गर्ने क्षमता रहेकोमा यसलाई बढाएर आगामी वर्षसम्म ६० हजार करोडसम्म पुर्याउने बताएका छन् ।

नोएडामा पतञ्जलीको नयाँ उद्योग लगाइने र यसको क्षमता वार्षिक २० देखि २५ हजार करोडको उत्पादन गर्ने रहने बताइएको छ । उनले पतञ्जली अबको २ वर्षमा भारतकै सबैभन्दा ठूलो ब्राण्ड बन्ने दाबी समेत गरे ।

रामदेवले सैनिकहरुको बालबच्चाका लागि यही वर्ष भारतमा सुविधासम्पन्न आवासीय विद्यालय खोल्ने समेत घोषणा गरेका छन् । यो विद्यालय पूर्ण निःशुल्क हुने उनले जनाएका छन् । यो विद्यालयमा १ हजार बालबच्चाले निःशुल्क पढ्न पाउनेछन् ।

रामदेवले नेपाली मुलका आचार्य बालकृष्णसँग मिलेर सन् २००६ देखि पतञ्जली आयुर्वेदको सुरुवात गरेका थिए । सन् २०१० बाट पतञ्जलीले आफ्नो उत्पादनलाई बढाएर ठूलो उद्योग र ब्राण्डको रुपमा आफूलाई बिस्तार थालेको थियो । पतञ्जलीले हालै मसलाका आइटम समेत बजारमा ल्याएको छ भने अब डेरीसँग सम्बन्धित उत्पादनमा समेत फोकस हुनेछ ।