काठमाण्डौ । बेलायतमा चिकित्सकहरुले सुरु गरेको क्लिनिक ट्रायल कोरोनाभाइरसबाट संक्रमित गम्भीर बिरामीका लागि फलदायी हुने अनुमान गर्न थालिएको छ।

चिकित्सकहरुले कोरोनाबाट गम्भीर रुपमा बिरामीहरुमा रोग प्रतिरोधक कोशिकाहरु (इम्युन सेल वा टी–सेल) को संख्या कम हुने पत्ता लगाएका हुन्। मानिसको शरीरमा भाइरसको संक्रमण कम गर्न टी–सेलको भूमिका महत्वपूर्ण हुन्छ।

यो क्लिनिक ट्रायलमा किंग्स कलेज लन्डनको फ्रान्सिस क्रिक इन्स्टिच्युट र गाएज एन्ड सेन्ट थोमस अस्पतालका वैज्ञानिकहरु सहभागी छन्। उनीहरुले कोरोना संक्रमित बिरामीमा यन्टरल्युकिन–७ नामक औषधि टी–सेलको संख्या बढाउन सहयोगीसिद्ध हुन सक्छ कि सक्दैन भन्ने पत्ता लगाउन पनि कोसिस गरिरहेका छन्। 

आम रुपमा अन्य रोगबाट ग्रसित बिरामीमा टी–सेलको संख्या बढाउनका लागि इन्टरल्युकिन–७ को प्रयोग गरिन्छ।

इम्युन सिस्टम

ट्रायलमा सहभागी चिकित्सकले कोरोना संक्रमित ६० जना बिरामीको रगतको नमुनाको विस्तृत जाँच गर्दा त्यसमा टी–सेलको संख्या निकै कम रहेको फेला पारेका छन्। क्रिक इन्स्टिच्युटका प्रोफेसर एड्रियन हेडेका अनुसार कोरोनाभाइरस इम्युन सिस्टमलाई कुन तरिकाले नोक्सानी पुर्याउँछ भन्ने कुरा पत्ता लगाउन आफैँमा आश्चर्यजनक हुनेछ। ‘हामी यही मान्छौँ कि हाम्रो शरीरमा इम्युन सिस्टम रोगविरुद्ध लड्छ’, उनले भने, ‘तर कोरोनाभाइरस एक किसिमले इम्युन सिस्टमलाई नै तहसनहस पारिन्छ। यो भाइरस टी–सेललाई कम गर्दै जान्छ।’

एक स्वस्थ वयस्क व्यक्तिमा एक माइक्रोलिटर रगतमा आम रुपमा २ हजार देखि ४ हजार टी–सेल हुन्छ। यसलाई टी–लिम्फोसाइट्स पनि भनिन्छ। तर चिकित्सकहरुको जाँचमा कोरोना संक्रमित बिरामीको शरीरमा केवल २०० देखि १२ सयबीच टी–सेलमात्र पाइएको छ। 

हौसला बढाउने कोसिस

चिकित्सकहरुका अनुसार यो नयाँ जानकारीपछि अब कोरोना संक्रमित बिरामीको रगतमा टी–सेलको संख्याका लागि विशेष टेस्ट बनाउन सकिन्छ। जसबाट समय रहँदै यो पत्ता चलाउन सकिन्छ कि कस्ता बिरामीमा यो भाइरसले गम्भीर रुप लिन सक्छ। साथै टी–सेलको संख्या कम हुनासाथ बढाउनका लागि चिकित्सकले सम्भावित कदम अगाडि बढाउन सक्नेछन्।

गाएज एन्ड सेन्ट थोमस अस्पतालमा क्रिटिकल केयर कन्सल्टेन्ट मनुशंकर हरिका अनुसार इन्टेन्सिभ केयरमा आउने बिरामीमा करिब ७० प्रतिशतमा प्रतिमाइक्रोलिटर रगतमा ४०० देखि ८०० टी–सेल रहेको पाइन्छ। उनी भन्छन्, ‘जति–जति बिरामी ठिक हुँदै जान्छन्, उनीहरुको शरीरमा टी–सेलको संख्या पनि बढ्दै जान्छ।’

सेप्सिसबाट पीडित बिरामीहरुको एउटा सानो समूहमा इन्टरल्युकिन–७ को परीक्षण गरिएको थियो। ती बिरामीमा यो औषधिले टी–सेलको सख्या बढाउन सफल साबित भएको थियो।

के हो यो क्लिनिकल ट्रायल

यो क्लिनिकल ट्रायलमा कम लिम्फोसाइट काउन्ट भएका त्यस्ता बिरामीलाई यो इन्टरल्युकिन–७ औषधि दिइनेछ जो तीन दिनभन्दा बढी समयदेखि क्रिटिकल केयरमा हुनेछन्। शंकर हरि भन्छन्, ‘हामीलाई आशा छ कि यो औषधिले त्यस्ता बिरामीको शरीरमा टी–सेलको संख्या बढाउनुका साथै संक्रमण पनि घटाउँदै लैजानेछ।’

यो अनुसन्धानले कोरोनापीडित बिरामीमा यो भाइरसले कसरी इम्युन सिस्टम नष्ट गरिरहेको छ भन्ने कुरा पनि पत्ता लाग्ने बताइएको छ। प्रोफेसर एड्रियन हेडेका अनुसार यो जानकारी पूरै विश्वका चिकित्सकहरुका लागि महत्वपूर्ण उपलब्धि हुन सक्छ। – एजेन्सी