काठमाण्डौ । पत्रकार महासंघको २५ औं महाधिवेशन अन्तरगत सोमबार शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ । मतदानको क्रममा उम्मेद्वारहरुले फरक–फरक प्रचार शैली अपनाएका थिए । कोही मत माग्न व्यस्त थिए भने कोही आफ्ना नेताको प्रचारमा गीत गाउन, नाच्न र हुटिङ गर्न तल्लीन थिए । त्यही भीडमा थिए एक ‘स्वर्गीय पत्रकार’ । 

‘मलाई पोहोर साल यही कार्यसमितिले प्रेस स्वतन्त्रता सेनानी उपाधिले सम्मान गर्यो । अहिले जिउँदै मान्छेलाई स्वर्गीय भनेर अपमान गरियो । महासंघको प्रतिवेदनका अनुसार म मरिसकेको छुु । महासंघले यति ठूलो गल्तीप्रति सार्वजनिक माफी माग्नुुपर्छ ।’

तपाईलाई अचम्म लाग्यो होला, स्वर्गीय पत्रकार कसरी महासंघमा मत हाल्न पुुग्यो भनेर । महासंघको बन्दसत्रमा प्रस्तुुत भई ध्वनी मतले पारित भएको कोषाध्यक्षको प्रतिवेदनमा स्वर्गीय घोषणा गरिएका सुनसरीका एक अग्रज पत्रकार त्यही बीचमा गुनासाहरु पोखिरहेका थिए । 

भएको के रहेछ भने महासंघका कोषाध्यक्ष सूूर्यमणि गौतमले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमा सुनसरीका अग्रज पत्रकार याम प्रधानलाई स्वर्गीय भनिएको रहेछ । सो प्रतिवेदन बन्दसत्रबाट बिना विरोध पारित भइसकेको छ । अब पास भइसकेको पत्रकार महासंघजस्तो प्रतिष्ठित संस्थाको प्रतिवेदनलाई आधार मान्ने हो भने याम प्रधान स्वर्गीय अग्रज पत्रकार हुन्, तर यथार्थ भिन्न : उनी जिवितै छन्, महासंघले आफ्नो प्रतिवेदनमा जिवित अग्रज पत्रकारलाई ‘स्वर्गीय’ भनिदिएको छ र यति ठूलो गल्तीको बिषयमा हालसम्म न क्षमायाचना गरेको छ न त कुनै प्रतिक्रिया नै दिएको छ । 

मतदाताको बीचमा बसेका याम प्रधान सोमबार काठमाण्डौको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आफ्ना शुभेच्छुुकहरुसँग भन्दै थिए–‘मलाई पोहोर साल यही कार्यसमितिले प्रेस स्वतन्त्रता सेनानी उपाधिले सम्मान गर्यो । अहिले जिउँदै मान्छेलाई स्वर्गीय भनेर अपमान गरियो । महासंघको प्रतिवेदनका अनुसार म मरिसकेको छुु । महासंघले यति ठूलो गल्तीप्रति सार्वजनिक माफी माग्नुुपर्छ।’

कोषाध्यक्ष गौतमको प्रतिवेदनको ४ पृष्ठको पत्रकार कल्याण कोषमा स्वर्गीय सुनसरीका अग्रज पत्रकार याम प्रधान भनिएको छ । प्रधान गत वर्ष निकै लामो समयसम्म बिरामी परेका थिए । उनलाई महासंघ लगायतका संघसंस्था तथा व्यक्तिहरुले समेत उपचारमा सहयोग गरेका थिए । 

महासंघको अधिवेशनमा १५१६ पत्रकारका प्रतिनिधि सहभागी थिए । जिल्लाका १० पत्रकार बराबर १ पार्षद अधिवेशनमा आउने हुँदा ती १० का १५१६ ले पारित गरेको र लगेको प्रतिवेदनमा याम प्रधान स्वर्गीय अग्रज पत्रकारको रुपमा रेकर्डेड भएका छन् । महासंघले यति ठूलो भूल गर्दा समेत हालसम्म यो बिषयमा प्रतिक्रिया दिएको छैन । जिउँदो मान्छेलाई यसरी स्वर्गीय भन्दा पीडित तथा उनको परिवारमा परेको पीडाको क्षतिपूर्ति कसले तिर्छ ? कोषाध्यक्ष गौतम लगायतका महासंघका जिम्मेवार नेताहरुले माफी माग्नुु पर्दैन ? 

पत्रकार महासंघका अध्यक्ष महेन्द्र बिष्टले आफूले प्रतिवेदन नपढेको बताए । उनले कैफियतमा त्यस्तो लेखिन गएको र त्यो भूलवश हुन गएको बताए । तर, सो कुरा कैफियतमा लेखिएको छैन । उनले आफूहरुलाई यो बिषय जानकारीमा आइसकेको र प्रतिवेदनमा सुधार गरिसकिएको दाबी समेत गरे ।