काठमाण्डौ । धितोपत्र बोर्डले १५ महिनापछि सामूहिक लगानी कोष(म्युचुअल फण्ड) स्वीकृत गरेको छ । 

बोर्डले लामो समयको अन्तरालपछि म्युचुअल फण्डका इकाई सर्वसाधारणमा बिक्रीको स्वीकृति दिएको हो । 

बोर्डले नवील इन्भेष्टमेन्ट बैंकिङ लिमीटेडले व्यवस्थापन गर्ने गरी ‘नवील ब्यालेन्स फण्ड–२’ लाई १० रुपैयाँ दरले १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई निश्कासनको अनुमति दिएको हो । 

बोर्डले यसअघि २०७४ पुस १७ गते ‘सिटिजन म्युचुअल फण्ड १’ लाई स्वीकृत गरेको थियो । पुस ११ गते ‘एनआइसी एशिया ग्रोथ फण्ड’लाई स्वीकृति दिएको थियो । यी दुवै योजनाले १ अर्बको इकाई बिक्रीको स्वीकृति पाए पनि सबै इकाई बिक्री गर्न भनेका सकेका थिएनन् । 

नवील इन्भेष्टमेन्ट बैंकिङ लिमीटेडले व्यवस्थापन गरेको म्युचुअल फण्डको यो तेश्रो योजना हो । पहिलो योजना भने परिपक्व भइसकेको छ । 

दोश्रो बजारको विषयमा राम्रो ज्ञान नभएका, तर सेयरमा लगानी गर्न चाहनेहरुका लागि म्युचुुअल फण्ड राम्रो विकल्प हो । म्युचुअल फण्डका संचालकहरुले लगानीकर्ताहरुको सानो सानो लगानी भेला पारी त्यसलाई विभिन्न कम्पनीको सेयरमा लगानी गरिदिएर त्यहाँबाट आउने नाफा समेत लगानीकर्तालाई बाँड्ने गर्छन् । यहीकारण दोश्रो बजारको विषयमा ज्ञान नहुने लगानीकर्ताका लागि म्युचुअल फण्ड लगानीको उत्तम विकल्प हो । 

नेपालमा हालसम्म बन्दमुखी फण्ड मात्र आएका छन् । विदेशमा जस्तो खुल्लामुखी फण्ड भने अझै बजारमा आउन सकेको छैन ।