काठमाण्डौ । तीव्र इन्साइडर ट्रेडिङ, सेयरको कर्नरिङ र यस्ता धन्दामा नियामकदेखि सम्बद्ध सबै पक्षको गठजोडका कारण पछिल्लो समय नेपालको सेयर बजारले ‘जूवाको खाल’लाई बिर्साइदिने चरित्र प्रदर्शन गर्न थालेको छ ।

ह्वीम र हल्लाकै भरमा कुनै निश्चित कम्पनीको सेयर हारालुछ भइरहेको दृश्यले यस्तै संकेत गर्दछ । 

नेप्सेमा सूचिकृत कम्पनीहरुले घोषणा गर्ने आकर्षक लाभांश सम्बन्धी जानकारी हप्ता दिनअघिदेखि नै चुहिएर बजारमा आउनु, त्यसका आधारमा सो कम्पनीको सेयर मूल्यमा ह्वात्तै बढ्नू(बढाइनु), कम्पनीले प्रकाशन गर्ने वित्तीय विवरण सम्बन्धी जानकारी समेत समयअगावै बजारमा चुहिनु र त्यसलाई ह्वीम बनाउँदै तीव्र चलखेल गरी सेयर मूल्य बढाइनु, संचालक समितिको बैठक बस्दा बस्दै त्यहाँ हुने महत्वपूर्ण निर्णय बजारका खेलाडीको कानसम्म आइपुग्नु र त्यसका आधारमा सेयरको तीव्र खरीदबिक्रीको खेल हुनु, जस्ता समस्या नेपाली सेयर बजारका लागि सामान्य बनिसकेका छन् । 

केही समयअघि सगरमाथा इन्स्योरेन्सले घोषणा गर्ने आकर्षक बोनस सेयरको निर्णयअघि नै सो सम्बन्धी सूचना बजारमा आइसकेको थियो । त्यस्तै सूचना आई बजारमा सो कम्पनीको सेयर मूल्य समेत केही दिन निकै धेरै माथि पुगेको थियो, मूल्य बढेर निकै माथि पुगेपछि मात्रै संचालक समितिबाट आकर्षक बोनस सेयर वितरणको निर्णय भएको विषय सार्वजनिक गरियो । 

भार्गव विकास बैंकको हकमा समेत त्यही भयो । यो बैंक राम्रो वित्तीय अवस्था भएको अर्को विकास बैंकमा गाभिने विषय अनौपचारिक रुपमा बजारमा आइसकेको थियो । कम्पनीको संचालक समितिबाट निर्णय भएर सो सम्बन्धी सूचना नेप्सेको भित्तासम्म आइपुग्दा भार्गवको मूल्यमा हुनुपर्ने चलखेल भइसकेको थियो, कमाउनेले उच्च मूल्य कायम गरी सेयर बिक्री गरी बजारबाट हिँडिसकेका थिए ।

सगरमाथा इन्स्योरेन्स र भार्गवको विषयले मात्र होइन, शिवम सिमेन्टको सेयर मूल्यमा हाकाहाकी भइरहेको खेलले त सर्वसाधारणका लागि बजार कति सुरक्षित लगानी विकल्प हो ? भन्ने बिषयको बहस नै सिर्जना गरिदिइसकेको छ । 

ठूला सेयर खेलाडीहरुले यो कम्पनीको मूल्य बढाइरहेका छन् । उच्च खरीद चाप देखाएर मूल्यमा अचाक्ली वृद्धि भइरहँदा समेत बजारको अस्वस्थ अभ्यास र खेललाई रोक्नुपर्ने निकायहरु तै चूप मै चूपको अवस्थामा छन् । मिडियाले तथ्यसहितको यथार्थता बाहिर ल्याउँदा समेत उनीहरुले चासो दिएका छैनन् । यसबाट समेत दोश्रो बजारको खेल कति हदसम्म नियोजित, धादँलीपूर्ण र सर्वसाधारण तथा नयाँ लगानीकर्ता फसाउने खालको  भनी बुझ्न सकिन्छ । 

खेलोफड्कोपछि कुस्त रिटर्न !
यस्तै खेलोफड्को भएको समयमा कतिपय लगानीकर्ताले चाहि १५ दिनको अवधिमै सेयर मूल्यमा सतप्रतिशत रिटर्न पाएर कुस्त कमाएका छन् । 
शिवम सिमेन्टको सेयरमा १६ दिनको अवधिमा लगानीकर्ताले १०० प्रतिशत भन्दा बढीको रिटर्न पाइसकेका छन् । 

अप्रील २५ अर्थात बैशाख १२ गते यो कम्पनीको दोश्रो बजारको अन्तिम बिक्री मूल्य प्रतिकित्ता ३१० रुपैयाँ रहेको थियो । 

आइतबार समेत शिवम सिमेन्टको मूल्यमा पोजिटिभ सर्किट लाग्यो । कारोबार समय सकिन ३५ मिनेट बाँकी छँदा यो कम्पनीको सेयर मूल्य बढेर प्रतिकित्ता ६२९ रुपैयाँ पुगेको हो ।

पन्ध्र दिनअघिको कारोबार दिनको अन्तिम बिक्री मूल्यसँग तुलना गर्दा शिवमको सेयर होल्ड गरेर बस्नेहरुले १६ दिनको अवधिमा १०३ प्रतिशतको हाराहारीमा रिटर्न पाएका छन् । 

बजारमा शिवमको ह्वीम यस्तरी चलेको छ कि, यसको विषयमा लगानीकर्ता नराम्रो खबर सुन्नै चाहँदैनन् । तथ्यमा आधारित खबर समेत पन्छाएर उनीहरु यो कम्पनीको सेयर धमाधम उठाइरहेका छन्, यसले निकट भविष्यमै हुनसक्ने गम्भीर दुर्घटनाको मात्र संकेत गर्दैन, ह्वीमको भरमा सेयर बजार कसरी चलेको हुन्छ भन्ने उदाहरण समेत देखाउँछ । 

‘शिवम सिमेन्ट अझै बढेर धेरै माथि पुग्छ’ भन्ने नियोजित हल्लाका कारण चूपचाप बस्ने र अध्ययन गरी लगानी गर्ने लगानीकर्ता समेत सर्टटर्म अवधिमा लगानी गरी पैसा टिपिहाल्ने योजनाका साथ यो कम्पनीको सेयर उठाउन मरिहत्ते गर्न थालेका छन् । 

अरु त अरु प्रतिकित्ता ३०० रुपैयाँमा यो कम्पनीको आइपीओ खरीद गर्दा फसिन्छ भनी डर मान्नेहरु र केही म्युचुअल फण्डहरु समेत लाइन लागेरै यो कम्पनीको सेयर खरीद गरिरहेका छन् । यसले गणेशमानले भनेजस्तो ‘नेपाली जनता भेंडा नै हुन् त’ भन्ने प्रश्नको पुनरावृति मात्रै गरेको छैन, बजारमा ‘जसो जसो बाहुन बाजे, उसो उसो स्वाहा’को प्रवृति लगानीकर्तामा कुन हदसम्म हाबी हुन्छ भन्ने कुरा पनि देखाइदिएको छ । 

तीव्र सेयर कर्नरिङ
सुरुवाती दिनहरुदेखि नै शिवम सिमेन्टको सेयर मूल्यमा ब्रोकर नम्बर ५८ मार्फत तीव्र चलखेल भएको थियो । यो क्रम अझै रोकिएको छैन । 

ब्रोकर नम्बर ५८को नाशा सेक्युरिटिजका पूर्व लगानीकर्ता(पूर्व भनिए पनि एक स्टाफले उनको समेत लगानी रहेको सुनाइन्) सन्दीप जलानको नाम शिवमको सेयर कर्नरिङमा जोडिएको छ । आइपीओ निश्कासपछि भएको शिवम सिमेन्टको साधारणसभामा सर्वसाधारण लगानीकर्ताको तर्फबाट संचालक बन्न सफल अल्का गोयल उनकी धर्मपत्नी हुन् । धर्मपत्नी कम्पनीको संचालक भएदेखि नै जलानले आफ्नो लगानी रहेको ब्रोकर र आफ्ना निकटका अन्य ब्रोकरलाई समेत परिचालन गरी शिवमको सेयरमा खेल्ने काम गरिरहेका छन् । 

हरेक ब्रोकर कुनै पनि कम्पनीको सेयर जति पनि उठाइदिन वा माध्यम बनेर कारोबार गरिदिन स्वतन्त्र छन् र उनीहरुले पाउँछन् पनि । तर, सामान्य मानिसले हेर्दा समेत तीव्र कर्नरिङ गरी उच्च माग सिर्जना गर्दै मूल्य बढाउने चलखेल गर्नु चाहि अपराधको एउटा गम्भीर पाटो हो । 

शिवम सिमेन्टले पब्लिकतर्फ कुल चुक्तापूँजीको १२ प्रतिशत सेयर जारी गरेको हो । दुई प्रतिशत आयोजना प्रभावितका लागि छुट्याइएको सेयर लकिङ पिरियडका कारण अहिले बजारमा कारोबार हुँदैन । सर्वसाधारणका लागि जारी गरिएको ४ करोड ४० लाख कित्ता सेयर मात्र अहिले कारोबार हुने गरेको हो । थोरै सेयर कित्ता भएका कारण निश्चित समूहले यसलाई आफू अनुकुल उपयोग गरिरहेको देखिन्छ । यसमा जलान नेतृत्वको समूह अंग्रपंक्तिमा देखिएको छ । उनले आफू निकटका ठूला लगानीकर्तालाई समेत यो खेलमा सामेल गराई शिवममा उच्च खरीद चाप सिर्जना गर्ने काम गरिरहेका छन् । यसको समन्वय ५८ नम्बर ब्रोकरले गरिरहेको स्रोतहरु बताउँछन् । 

आइतबार पनि ५८ नम्बर ब्रोकरमार्फत शिवम सिमेन्टका सेयर २०९ पटक खरीद भएको छ । कुल ५४ हजार ५१६ कित्ता शिवमको सेयर ३ करोड ३५ लाख ८६ हजार ७९० रुपैयाँमा यो ब्रोकरमार्फत मात्रै खरीद गरेको छ । 

यो दिन शिवम सिमेन्टले मात्रै १८ करोड २७ लाख बढीको कारोबार गरेको छ । यसको अर्थ कुल कारोबारको १८.३८ प्रतिशत कारोबार ब्रोकर नम्बर ५८ ले मात्र गरेको देखिन्छ ।