काठमाण्डौ । नेपालीहरूले निर्माण गरेको सगुनले नेपाली प्रयोगकर्ताहरुलाई विशेष लक्षित गरेर आफ्नो परिचय नखुलाई प्रयोग गर्न मिल्ने सामाजिक एप ‘सगुन लाइट’को सुरुवात गरेको छ । 

यसले प्रयोगकर्ताहरूलाई आफ्ना विचारको आधारमा कसैले धारणा बनाउन नसकोस भन्ने निश्चिन्तताका साथ विचारहरू अभिव्यक्त गर्ने स्वतन्त्रता प्रदान गर्ने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

सगुन लाइटको प्रयोग गरी खुल्ला रुपमा आफ्ना व्यक्तिगत विचार तथा अनुभवको साथै आफ्ना वरपर भइरहेका घटनाहरु, राजनीतिक, कानून, न्याय, धर्मजस्ता सार्वजनिक सरोकारका विषयहरुमा अभिव्यक्ति सम्प्रेषण गर्न सकिन्छ । 

सगुन लाइटले नेपालका लागि छुट्टै विषयहरु छनौट गरेको छ ।  जसमा नेपालका लागि दैनिक जनजीवन, नेपालका लोकप्रिय, नेपाली राजनीति, भिजिट नेपाल २०२०, हिन्दू तथा बौद्ध धर्म, ठट्यौली रचुट्किला, स्वास्थ्य तथा तन्दुरुस्ती, खेलकूदजस्ता विभिन्न रुचिका विषयहरू समावेश गरिएको छ।

नेपालका प्रयोगकर्ताहरूले आफ्ना रुचि अनुसारका विषयहरूमा जानकारी लिन तथा आफ्ना रुचिका विषयमा विचारहरू व्यक्त गर्न तथा समुदाय पनि निर्माण गर्न सकिने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ।

यस एपको निर्माण, नेपालमा प्रचलित एक पुरानो भनाईको आधारमा गरिएको छ। भनिन्छ–‘कुनै पनि वह मनमा नराख्नु।यदि मनको वह सुनाउनका लागि साथी तथा अन्य व्यक्तिहरू पाइएन भने रुख वा ढुंगालाई भए पनि सुनाउनू।त्यसो गर्दा मन हलुका हुन्छ ।’  

‘यही प्रारम्भिकअवधारणा सगुन निर्माणमा प्रयोग गरिएको बताइएको छ । सगुन लाइट एप खोली आफ्नो मनमा रहेका विचार संसारलाई सुनाउनुहोस साथै मन हलुका गर्नुहोस।’ कम्पनीबाट जारी विज्ञप्तिमा भनिएको छ । 

फेब्रुअरी २०१९ देखि यस एपलाई प्रयोगकर्ता तथा अन्य शुभचिन्तकहरूमाझ निरन्तर बेटा परीक्षण गरिएको थियो।६४ देशका २५१ सहरका प्रयोगकर्ताहरूले आफ्नो रूचिका विभिन्न विषयमा विचारहरू रंगीन पृष्ठभूमिमा शब्द, तस्विर तथा भीडियोमार्फत दैनिक रूपमा सम्प्रेषण गर्दै आइरहेका छन् । 

सगुनका  प्रयोगकर्ताहरूमध्ये धेरैले दिनमा २० पटकभन्दा बढी एप खोल्ने तथा आफ्ना सयौं साथीहरूलाई प्रयोगका लागि आमन्त्रण गर्दै आएका छन् ।  

प्रयोगकर्ताहरूले साझा गरेका १ लाखभन्दा बढी विचारहरू १ करोडभन्दा बढी पटक हेरिएको सगुनको दाबी छ।

सगुन लाइट एप चलाउन निकै सजिलो रहेको र यो निःशुल्क डाउनलोड गर्न सकिने कम्पनीले जनाएको छ ।