काठमाण्डौ । नेपाल उद्योग परिसंघको एक प्रतिनिधि मण्डलले बिहीबार उर्जामन्त्री महेन्द्रबहादुर शाहीसँग भेटी विद्युत महसुल वृद्धिको प्रस्ताव स्थगनको माग गरेको छ । 

परिसंघका अध्यक्ष हरिभक्त शर्माको नेतृत्वमा गएको टोलीले विद्युत महसुल निर्धारण आयोगले सार्वजनिक गरेको विद्युत महसुल वृद्धिको प्रस्ताव तत्काल स्थगन गर्नुपर्ने माग गरेको हो । 

‘विद्युत महशूल वृद्धिको प्रस्ताव कार्यान्वयनमा आएको खण्डमा औद्योगिक लागतमा वृद्धि हुने र प्रतिस्पर्धी क्षमतामा समेत ह्रास आई उद्योगहरु थप संकटमा पर्ने भएकोले उक्त प्रस्ताव कार्यान्वयन नगर्न जोडदार माग गरेको छ ।’ परिसंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

सो अवसरमा उर्जामन्त्री शाहीले परिसंघको यस प्रस्तावलाई गम्भिरतापूर्वक लिई उद्योगधन्दामा तत्काल विद्युत महशूल नबढाउने र उद्योगीहरुलाई कुनै अप्ठेरोमा नपार्ने आश्वासन समेत दिएका बताइएको छ ।