काठमाण्डौ । नेपाल उद्योग परिसंघले तीन ठूला दलका प्रमुखलाई एउटै मञ्चमा उतार्ने भएको छ ।

परिसंघको १४ औं वार्षिक साधारणसभाको उद्घाटन समारोहमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुुष्पकमल दाहाल(प्रचण्ड)लाई एउटै मञ्चमा उतार्ने भएको हो । 

परिसंघले समृद्धिका लागि लगानी र विकासको अपरिहार्यताको नारासहित १४ औं वार्षिकोत्सव मनाउन लागेको हो । नारामा केन्द्रीत रही परिसंघले वृहत बहस समेत चलाउने तयारी गरेको छ । 

यसअघिको भन्दा यो पटकको साधारणसभा निकै भिन्न रहेको उल्लेख गर्दै परिसंघले भनेको छ–‘वार्षिक साधारणसभा परिसंघको नियमित प्रक्रिया नै हो तापनि यो साधारणसभा भिन्न परिवेश र परिस्थितिकाबीच हुदंैछ । ठूलो उतारचढाव, द्वन्द्व र शान्ति प्रक्रियाको पहलकदमीपश्चात् मुलुकले नेपालको संविधान २०७२ कार्यान्वयन भएको छ । दुई दशकपछि ६ प्रदेशमा स्थानीय तहको निर्वाचन भएको छ । हालमुलुकमा संविधानको कार्यान्वयनको चरणमा संघीय राज्यमार्फत विकासको मार्गचित्र कोर्न तयार भइसकेको अवस्थामा मुलुकलाई विकासको अर्को चरणको उचाइँमा पुर्याउन नयाँ नीति र कार्यक्रमहरु अवलम्बन गर्नु आवश्यक छ।’

परिसंघले आर्थिक वृद्धिमा टेवा पुर्याउन संघीय सरकारले विभिन्न किसिमबाट मद्दत गर्न सक्ने उल्लेख गर्दै त्यसतर्फको पहिलो आवश्यकता निजी क्षेत्रको सम्मानजनक प्रवर्धन, लगानीमैत्री वातावरणको निर्माण तथा जिम्मेवारीबोध सहितको सरकारी कार्यक्षमताको बिस्तार रहेको प्रष्ट्याएको छ । 

परिसंघले आ.व. २०७२/७३ मा १ प्रतिशतभन्दा पनि कम रहेको नेपालको आर्थिक वृद्धिदर आ.व. २०७४/७५ मा ७.५ प्रतिशत प्रक्षेपण गरिनु उत्साहजनक स्थिति रहेको विश्लेषण गर्दै भनेको छ–‘यस उत्साह र वृद्धिलाई आगामी तीन वर्षसम्म निरन्तरता दिन सकेमा हामी सजिलैसँग दोहोरो आर्थिक वृद्धि हासिल गर्न सक्छौ ।’ 

नीतिनियममा  सुधार  गर्दै  देशमा हाल आएको आर्थिक अवसरलाई स्थायित्व प्रदान गर्न वार्षिकोत्सवको अवसरमा सरकार एवं मुख्य राजनीतिक दलहरुको तर्फबाट पूर्ण प्रतिवद्धता माग्ने परिसंघको तयारी छ ।