काठमाण्डौ । दोश्रो बजारमा खरीदको चाप ह्वात्तै बढेको छ । खरीद गर्ने लगानीकर्ताहरु सक्रिय बन्दा सोमबार नेप्से परिसूचक १०.४२ अंकले वृद्धि भई ११३५.५६ को विन्दूमा पुगेको छ । 

यो दिन नेप्से परिसूचक दोहोरो अंकले बढे पनि कारोबार रकम भने १७ करोडको हाराहारीमा मात्र पुगेको छ । यसको अर्थ बजारमा बिक्री गर्नेहरु न्यून रहेका र खरीदमा चाप परेको देखिन्छ । 

पछिल्लो समय नेपालको सेयर बजारमा धेरै राम्रा र बलिया कम्पनीको सेयर सस्तोमै फालाफाल छ । बजारका जानकार, विश्लेषकहरुले बजार घटेर न्यून विन्दूमा पुगेको यो समयलाई बजार प्रवेश गर्ने र सेयर खरीद गर्ने स्वर्णिम अवसर मानिरहेका छन् । यही अवसरलाई पोल्टामा पार्नेहरुको सक्रियताका कारण सोमबार बजार बढेको देखिन्छ । 

यो दिन राम्रा र बलिया कम्पनीको सेयर कारोबार मापक सेन्सेटिभ इण्डेक्समा  ०.६८ अंकले बढेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्स ०.८२ अंकले बढेको छ । 

अन्य समूहको उपसूचक ६.८२ अंकले घटेको छ भने बाँकी सबै समूहको उपसूचक बढेका छन् । 

यो दिन बैंकिङ समूह ९.८१ अंकले बढेको छ भने विकास बैंक समूह ९.८९ अंकले, होटल समूह ४९.०२ अंक, जलविद्युत समूह २०.१८ अंक, बित्त समूह ३.१७ अंक, निर्जीवन बिमा समूह ६६.४९ अंक, उत्पादन तथा प्रशोधन समूह ३८.८९ अंक, जीवन बिमा समूह ७१.८६ अंक, माइक्रोफाइनान्स समूह १० अंकले बढेका छन् । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १५७ कम्पनीका ६ लाख ३३ हजार ९५१ कित्ता सेयर १६ करोड ८८ लाख २८ हजार ९२३ रुपैयाँमा किनबेच भएको छ । 

सनराइज बैंकले सबैभन्दा बढी २ करोड १३ लाख बढीको कारोबार गरेको छ । 

प्रभू बैंकले १ करोड ३१ लाख, नेपाल बैंकले १ करोड १८ लाख, सानिमा बैंकले ८२ लाख बढीको कारोबार गरेका छन् भने सिटिजन्स बैंकको ७५ लाखको संस्थापक सेयर समेत किनबेच भएको छ । 

नेपाल लाइफ इन्स्योरेन्सले ६९ लाख, अपर तामाकोशीले ४९ लाख, बैंक अफ काठमाण्डूले ४४ लाख र कृषि विकास बैंकले ३८ लाख बढीको कारोबार गरेका छन् । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन युनियन हाइड्रोपावर, साञ्जेन जलविद्युत कम्पनी र तिनाउ मिसन डेभलपमेन्ट बैंकका लगानीकर्ताले धेरै कमाए । यी तीन कम्पनीको सेयर मूल्य क्रमशः ५.८८, ५.५२ र ५.४४ प्रतिशतले बढ्यो।

माउन्टेन हाइड्रो, आँखुखोला जलविद्युत कम्पनी र सानिमा बैंकका लगानीकर्ताले धेरै गुमाए । यी तीनै कम्पनीको सेयर मूल्यमा ४ प्रतिशतको हाराहारीमा गिरावट आयो ।