काठमाडौँ । सरकारले नेपाल पर्यटन बोर्डको सञ्चालक समिति सदस्यमा तीनजना सदस्य नियुक्त गरेको छ । 

सार्वजनिक तथा निजी साझेदारी संस्था बोर्डमा निजी क्षेत्रबाट आगामी तीन वर्षका लागि सदस्य नियुक्ति गरिएको हो । 

नवनियुक्त सदस्यमा ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ (टान) का पूर्व अध्यक्ष दीपक महत, पर्यटन विकास समाज कैलालीका अध्यक्ष कृष्णबहादुर महरा र अवदेशकुमार यादव हुनुहुन्छ । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले शुक्रबार रिक्त तीन सदस्य नियुक्त गरेको नवनियुक्त सदस्य दीपक महतले जानकारी दिनुभयो । 

बोर्डका जम्मा ११ सञ्चालक समिति सदस्यमध्ये निजी क्षेत्रबाट पाँचजनाको प्रतिनिधित्व रहन्छ । सरकारीतर्फबाट पर्यटन मन्त्रालयका सचिव बोर्ड अध्यक्ष र पर्यटन मन्त्रालय मातहतका विभिन्न विभागबाट सहसचिवस्तरका (महानिर्देशक) चारजना र बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सदस्य–सचिव रहने व्यवस्था छ । पछिल्लो समय बोर्ड सदस्य नियुक्ति विषयमा विवाद बढेको थियो । 

बोर्ड सदस्य नियुक्तिका लागि सिफारिस गर्न पर्यटन मन्त्रालयले सहसचिव डण्डुराज घिमिरेको संयोजकत्वमा नेपाल पर्वतारोहण संघका पूर्व अध्यक्ष आङ्छिरिङ शेर्पा र टानका वरिष्ठ उपाध्यक्ष खुमबहादुर सुवेदी रहेको तीन सदस्यीय सिफारिस समिति गठन भएको थियो ।