काठमाण्डौ । कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा बढी प्रभावित हुने पर्यटन क्षेत्रसँग सम्बन्धित प्रतिष्ठानहरुलाई कर्मचारीहरुलाई तलब बाँड्न अपुग रकममध्ये ५० प्रतिशत बराबरको रकम सहुलियत दरमा ऋण उपलब्ध गराउन अर्थमन्त्रालयले निर्देशन दिएको छ । 

अर्थ मन्त्रालयका सचिव शिशिर ढुंगानाले मातहतका निकायहरुलाई यस्तो निर्देशन दिएका हुन् । 

निर्देशन अनुसार पर्यटनसँग सम्बन्धित प्रतिष्ठानहरुले आफ्नो मासिक वा दैनिक ज्यालादारी कर्मचारीहरुलाई २०७७ बैशाख महिनाको तलबको ५० प्रतिशत सम्बन्धित उद्योगले उपलब्ध गराउने र बाँकी ५० प्रतिशत तलब वा ज्याला भुक्तानी गर्न रकम अभाव भएमा त्यस्ता व्यवसायीलाई सोही प्रयोजनका लागि बैंक तथा वित्तीय संस्थाबाट सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने व्यवस्था गर्न भनिएको छ ।

यस्तै, लकडाउनका कारण तरलताको अभाव भई तलब वा ज्याला भुक्तानी गर्न असमर्थ भएका ठूला उद्योग प्रतिष्ठानहरुलाई पनि सोही प्रयोजनका लागि उपयुक्त धितो लिई सहुलियतपूर्ण कर्जा दिने व्यवस्था मिलाउन समेत अर्थसचिवले निर्देशन दिएका छन् । 

यस्तै, सामाजिक सुरक्षाकोषमा आबद्ध भएका यस्ता प्रतिष्ठानमा कार्यरत श्रमिक तथा रोजगारदाताहरुको तर्फबाट २०७७ बैशाख र जेठ महिनामा गर्नुपर्ने योगदान रकम असार मसान्तसम्म जम्मा गर्न पाउने व्यवस्था समेत गर्न भनिएको छ ।