काठमाण्डौ। आगामी आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम र बजेटबाट सरकारले आगामी एक दशकलाई ‘भ्रमण दशक’ घोषणा गर्ने भएको छ। 

हरेक वर्ष विधागत रुपमा प्राथमिकताका साथ पर्यटन प्रवद्र्धधन योजना ल्याउन तयारीमा सरकार लागेको हो। विश्व महामारी कोरोनाभाइरसकै कारण यसअघि सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० स्थगित भइसकेको छ। 

कोरोना संकटकै कारण नेपालको पर्यटन क्षेत्र तहसनहस भएको छ। अब पर्यटनलाई पुनरुत्थान गर्ने प्याकेजसहित सरकारले भ्रमण दशक घोषणा गर्न लागेको संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराई बताउँछन्। 

मन्त्री भट्टराईका अनुसार सन् २०२० मा ‘सर्भाइभ’ र २०२१ मा ‘रिभाइभ’ का प्याकेजहरु सञ्चालन गरिनेछ भने २०२२ मा नेपालको पर्यटन उद्योगलाई पुरानै अवस्थामा फर्काउन सकिने गरी नीति तथा कार्यक्रम र बजेट ल्याउने सरकारको तयारी छ। कोरोनाबाट पर्यटन क्षेत्रमा भएको क्षति न्यूनीकरण तथा पर्यटन व्यवसायी र मजदुर दुवैलाई अनुकूल हुने गरी कार्यक्रमहरु ल्याइने भट्टराईले जानकारी दिए। 

यसैगरी सरकारले सन् २०११ को पर्यटन वर्षबाटै शुरु गरेको कर्मचारीका लागि पर्यटन बिदाको अवधारणालाई पुनः निरन्तरता दिने भएको छ। जसका लागि आगामी आर्थिक वर्ष २०७७÷७८ मा समेत पर्यटन बिदालाई बजेटमा समावेश गरिने तयारी भइरहेको भट्टराईले जानकारी दिए। यसबाट करिब २० लाख आन्तरिक पर्यटक घुमघाममा निस्कने वातावरण बन्ने उनको विश्वास छ। 

यसैगरी सरकारले तीनवटै राष्ट्रिय गौरवका विमानस्थलले आगामी वर्ष बजेट उपलब्ध गराउने भएको छ। जसअनुसार भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आगामी आर्थिक वर्षबाट सञ्चालनमा ल्याउने योजना रहेको भट्टराईले सुनाए। त्यस्तै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसमेत आगामी आर्थिक वर्षको अन्तिममा निर्माण सम्पन्न गरिसक्ने सरकारको लक्ष्य छ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको भने निर्माण सुरु गर्ने गरी योजनामा पारिने मन्त्री भट्टराईले बताए।