काठमाण्डौ । लामो समयको रस्साकस्सीपछि नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृतमा डा.धनन्जय रेग्मीलाई नियुक्त गरिएको छ । 

बोर्डको मंगलबार बसेको बैठकले छनौट समितिको सिफारिस अनुसार सबैभन्दा धेरै अंक ल्योन डा. रेग्मीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो । 

यसअघि पर्यटन मन्त्रालयका सचिव केदारवहादुर अधिकारी संयोजकत्वको बोर्डको सीइओ छान्न समिति गठन गरिएको थियो । समितिले डा. रेग्मीसहित तीन जनाको नाम सिफारिस गरेको थियो । बोर्डको सीइओ बन्न ९ जनाले आवेदन दिएका थिए । तीमध्ये छनौट समितिले रेग्मीसहित हिक्मत ऐर र दिपक बस्ताकोटीको नाम सिफारिस गरेको थियो । 

सिफारिस भएका नाममध्ये डा. रेग्मीलाई सीइओ नियुक्त गर्ने विषयमा बोर्डको संचालक समिति बैठकमा सर्वसम्मति जुटेको हो । 

पर्यटन बोर्डका सीइओमा नियुक्त रेग्मी स्याङ्जाका स्थायी बासिन्दा हुन् । उनी जलवायु परिवर्तन तथा हिमतालहरुको अध्येता तथा पर्यटन क्षेत्रका विज्ञ समेत हुन् ।