काठमाण्डौ । ठूला चाडपर्व अगाडि गाडी किन्नेहरुका लागि फेरि विभिन्न अफरहरु आउने भएका छन् । 

नाडा अटोमोवाइल्स एशोशिएसन अफ नेपालले यही भाद्र १० देखि १५ गतेसम्म सवारी साधन, पार्ट पूर्जा, वित्तीय सेवा एवम् अन्य सम्बन्धित सरोकारवाला संघ संस्थाहरुको एक मात्र भव्य प्रदर्शनीको १४औं संस्करण “नाडा अटो शो २०१९” आयोजना गर्न लागेको छ । 

नाडा अटो सोसँगै ठूला चाडपर्वको सुरुवात भएको मान्नेहरुका लागि यो मेला समेत उत्सवको रुपमा आउने गर्छ । मेलामा विभिन्न कम्पनीहरुले गाडी खरीदमा बग्रेल्ती अफरहरु ल्याउने गर्छन् । अफरहरुको बहारलाई छोपेर सस्तोमा गाडी किन्ने र विभिन्न अफर तथा सुविधा लिनेहरुको निकै ठूलो संख्या राजधानीमा भएकोले समेत यो मेलालाई चासोको साथ हेरिन्छ । 

काठमाडौंको भृकुुुुटी मण्डप प्रदर्शनीस्थलमा आयोजना हुने उक्त प्रदर्शनीले यस वष कभर्ड हल, ठूलो चौर तथा बगैंचामा समेत गरी प्रदर्शनी स्थलको सम्पूर्ण क्षेत्रफल ओगट्ने आइतबार पत्रकार सम्मेलन गरी बताइएको छ । 

यस संस्करणमा पनि शीर्ष प्रायोजक(टाइटल स्पोन्सर) सर्भो वल्र्ड क्लास लुब्रिकेन्ट्स रहेको छ भने मेला व्यवस्थापन ग्लोबल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेजले गरिरहेको छ । 

प्रत्येक वर्ष नाडा अटो शोमा सहभागी संस्था तथा अवलोकनकर्ताहरुको चाप बढ्दै गइरहेको आयोजकको दाबी छ । यसले सवारी साधन विलासिता मात्र नभई, आम सर्वसाधारणको जिविकोपार्जनका लागि चाहिने अत्यावश्यक साधनको रुपमा पनि चित्रण हुन थालेकोे आयोजकको ठम्याई रहेको छ । 

प्रदर्शनीलाई बढी जानकारीमुलक, सेवामूलक र ग्राहकमुखी बनाउन अटो सम्बन्धी सेवा सुविधा दिने जस्तै वित्तिय सेवा, विक्रिपछिका सेवा एवं इन्सुरेन्सका छुट्टा छुट्टै स्टलहरु रहने छन् भने अटो सम्वन्धी जानकारी दिने म्यागेजीन तथा पत्रपत्रिकाहरुका लागि पनि छुट्टै साझा मिडिया स्टलको व्यवस्था गरिएको आयोजकको भनाई छ । आम सर्व साधारणलाई ट्राफिक नियम तथा सडक सुरक्षा सम्बन्धी व्यापक सुसूचित गराउने उदेश्यका साथ महानगरीय ट्राफिक प्रहरी महाशाखा, काडमाडौंको सुचना–कक्ष समेत प्रदर्शनीमा रहने छ । 

प्रदर्शनीमा ठूला तथा साना गरी करिब १६० वटा स्टल र ब्लकहरु रहने छन् । उक्त प्रर्दशनीमा प्रख्यात अन्तर्राष्ट्रिय ब्राण्डका सवारीसाधन, लुब्रिकेन्ट, टायर, पार्ट–पुर्जाका साथै राष्ट्रिय ब्राण्डका अटो सामाग्री उत्पादक एवं वस्तु तथा सेवा प्रदायकहरुको सहभागिता समेत रहने छ । प्रदर्शनीमा २३ वटा ब्राण्डका चार पाङग्रे, १९ वटा ब्राण्डका दुई पाङग्रे, १२ वटा ब्राण्डका लुब्रिकेन्ट, ९ वटा ब्राण्डका टायर, ५ वटा ब्राण्डका ब्याट्री, १४ वटा पार्ट–पुर्जा एवं ग्यारेज उपकरण कम्पनी तथा १३ वटा वित्तिय संस्थाहरुको सहभागिता रहने बताइएको छ । 

प्रदर्शनीमा अवलोकनकर्ताहरुको सुविधालाई विषेश ध्यानमा राखी २–पाङग्रे, ४–पाङग्रे, वित्तिय संस्था, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरर्णहरुको छुट्टा–छुट्टै प्रदर्शन  गरिएको छ । यस पटकको नाडा अटो शोमा अटो कम्पोनेन्टका स्टलहरु तथा फुडस्टलहरु  बगैंचामा रहने छन् । 

विगतका नाडा अटो शोभन्दा अझ व्यवस्थित बनाउन एवं आगन्तुकहरुको भ्रमणलाई सुविधायुक्त बनाउन सहज आवत जावतकालागि यस वर्ष अस्थाई आकाशे पुलको निमार्ण पनि गरिने भएको छ । पार्किङ्ग स्थलको चरम अभाव भएता पनि प्रदर्शनी अवलोकन गर्न आउने दर्शकका लागी सकेसम्म पर्याप्त पार्किङ्गको व्यवस्था गरिएको छ ।

६ दिन सम्म चल्ने उक्त नाडा अटो शोमा लगभग ७५००० आगन्तुकहरुले अवलोकन गर्ने विश्वास आयोजकको रहेको छ । यस वर्षको थप आकर्षणमा ओमेगा अटोमोबाइल्सको प्रायोजनमा नाडाले जि.पि.एक्स. जेन्टलमेन २०० सि.सि. क्षमताको मोटरसाइकल टिकटको लक्की ड्र गरी भाग्यसाली एकजना आगन्तुकलाई उपहार दिने व्यवस्था समेत गरेको छ । 

विद्यार्थीका लागि प्रवेश शुल्क रु. १५० र अन्यका लागि रु. २०० कायम गरिएको छ ।