काठमाण्डौ । ठूला चाडपर्व नजिकिँदै जाँदा नेपाली भान्सामा लगभग अनिवार्य मानिएको प्याजको मूल्यमा अचाक्ली वृद्धि भएको छ । 

प्याजको बढ्दो मूल्यका कारण प्याज काट्दा झै आम उपभोक्ताको आँसु आउने अवस्था सिर्जना भएको छ । 

नेपाली बजारमा पाइने आधाभन्दा बढी प्याज भारतबाट आयात हुने गर्दछ । प्रतिकूल मौसमका कारण भारतीय बजारमै समेत प्याजको मूल्य अचाक्ली बढेपछि त्यसको सोझो असर नेपाली बजारमा समेत परेको हो । 

भारतका केही सहरमा प्याजको मूल्य प्रति केजी भारु ४० सम्मको उचाईमा पुगिसकेको छ । प्याज उत्पादन बढी हुने भारतका राज्यहरुमा अत्यधिक वर्षाका कारण यो वर्ष उत्पादन घटेको र यसैको बाहानामा प्याजको मूल्य बढाउने काम भएको भन्दै त्यहाँका मिडियाहरुले समाचार प्रकाशन गरेका छन् । पछिल्लो एक महिनामा भारतीय बजारमा प्याजको मूल्य ७५ प्रतिशतसम्मले वृद्धि भएको बताइएको छ । 

भारतीय जनतालाई अचाक्ली महंगो भई आँसु आँसु बनाइरहेको प्याजले नेपालीहरुलाई समेत छाडेको छैन । यसको महंगीको मार नेपालीहरुले पनि विगत केही सातादेखि भोगिरहेका देखिएको छ । 

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार तीन हप्ताको अवधिमा प्याजको मूल्य ५१.३८ प्रतिशतले बढिसकेको छ । 

साउन १६ गते प्याजको थोक बिक्री मूल्य प्रतिकेजी ३७ रुपैयाँ रहेकोमा भदौ ६ गते यसको मूल्य बढेर प्रतिकेजी ५६ रुपैयाँको उचाई चुमिसकेको छ । 
ठूला चाडपर्व मुखैमा रहेका कारण बजारमा प्याजको माग अझै बढ्ने, तर मागको तुलनामा आपूर्ति सहज हुने अवस्था नदेखिँदा मूल्यमा अझै बढोत्तरी हुनसक्ने बताइएको छ ।