काठमाण्डौ । एनएमबि बैकले नेपालको पर्वतीय क्षेत्रको आर्थिक,  सामाजिक समृद्धिका लागि इन्टरनेशनल सेन्टर फर इन्टीग्रेटेड माउन्टेन डेभलपमेन्ट(इसीमोड)सँग सहकार्य गर्ने भएको छ ।

सहकार्य सम्बन्धी सम्झौतापत्रमा बुधबार इसीमोडको कार्यालय धापाखेलमा बिशेष पत्रकार सम्मेलन आयोजना गरेर बैकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र इसीमोडका डाइरेक्टर जनरल डा. डेभिड मोल्डेनले हस्ताक्षर गरे । 

सम्झौताको मुख्य उदेश्य दुबै संस्थाले आफ्ना नेपालभर फैलिएको सञ्जालमार्फत आफ्नो प्राबिधिक सीप तथा दक्षता प्रयोग गरी स्थानीय समुदायको सामाजिक आर्थिक बिकासका लागि काम गर्ने रहेको बताइएको छ । 

सम्झौताले पर्वतीय क्षेत्रको स्थानीय समुदायहरुका लागि मुख्य तीन कार्य क्षेत्रलाई सम्बोधन गर्नेछ, जसमा बित्तिय क्षेत्रमा पँहुच, लगानीको प्रभाव र संस्थागत सामाजिक उत्तरदायित्व पर्ने पत्रकार सम्मेलनमा बताइएको छ ।

एनएमबि बैकले “समृद्घ नेपालका लागि” भन्ने नारालाई आत्मसाथ गर्दै उर्जा, पर्यटन, साना तथा मझौला ब्यवसाय तथा कृषि क्षेत्रमा बिभिन्न खाले सहकार्यहरु गर्दै आएको छ ।