काठमाण्डौ । पहाडमा महंगी अचाक्ली रहेको, तर काठमाण्डौ सबैभन्दा सस्तो भन्दा तपाई पत्याउनुुहुन्छ ? सायदै पत्याउनुुहुन्छ । तर, नेपाल राष्टबैंकको वार्षिक समीक्षागत रिपोर्टले यस्तै भन्छ । अर्थात, आर्थिक वर्ष २०७३/७४ मा पहाडको मुद्रास्फिति क्षेत्रगत आधारमा सबैभन्दा उच्च छ भने काठमाण्डौको सबैभन्दा कम ।

समीक्षा वर्षमा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति पहाडमा ६.४ प्रतिशत, तराईमा ४.४ प्रतिशत, हिमालमा ४.१ प्रतिशत र काठमाडौं उपत्यकामा ३.१ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०७४ मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ४.५ प्रतिशतमा सीमित रहेको छ । अघिल्लो वर्ष सो मुद्रास्फीति ९.९ प्रतिशत रहेको थियो । आर्थिक वर्ष २०६१/६२ पछि पहिलो पटक वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ४.५ प्रतिशतमा झरेको हो । उक्त ४.५ प्रतिशतको उपभोक्ता मुद्रास्फीति दर आर्थिक वर्ष २०७४ को ७.५ प्रतिशतको लक्ष्यभन्दा कम रहेको छ । नेपाल राष्ट्र बैंकले वार्षिक मौद्रिक नीति जारी गर्न शुरु गरेको आर्थिक वर्ष २०५९/६० पछि आर्थिक वर्ष २०६०/६१ र २०६३/६४ मा मात्र वास्तविक मुद्रास्फीति लक्ष्य भन्दा कम रहेको थियो । अघिल्लो वर्षको आधार मूल्यको प्रभाव, आपूर्ति व्यवस्थापन आएको सुधार एवम् भारत लगायत विश्वव्यापी रुपमै न्यून मूल्यवृद्धिको प्रभावका कारण समीक्षा वर्षमा उपभोक्ता मुद्रास्फीतिमा कमी आएको हो।

२०७४ असार महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति २.७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति १०.४ प्रतिशत रहेको थियो । उक्त वार्षिक विन्दुगत मुद्रास्फीति २०६१ कार्तिक पछिको न्यूनतम हो ।

समीक्षा वर्षमा घ्यू तथा तेल, दलहन तथा गेडागुडी, तरकारी, यातायात लगायतका समूहको वार्षिक औसत मूल्यमा कमी आएकोले समग्र उपभोक्ता मुद्रास्फीति न्यून रहन गएको हो ।

समीक्षा वर्षमा खाद्य तथा पेय पदार्थ समूह र गैर–खाद्य तथा सेवा समूहको मूल्य सूचकाङ्कको औसत वृद्धिदर क्रमशः १.९ प्रतिशत र ६.५ प्रतिशत रहेको छ । अघिल्लो वर्षमा यी समूहहरुको मूल्य सूचकाङ्कको औसत वृद्धिदर क्रमशः १०.९ प्रतिशत र ९.२ प्रतिशत रहेको थियो । घ्यू तथा तेलको मूल्यमा ६ प्रतिशत, दलहन तथा गेडागुडीको मूल्यमा ५.५ प्रतिशत र तरकारीको मूल्यमा २.५ प्रतिशतले कमी आएकोले समग्र खाद्य मुद्रास्फीति न्यून रहन गएको हो ।

आर्थिक वर्ष २०७४ मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति भारतमा ३.४ प्रतिशत र नेपालमा ४.५ प्रतिशत रहेकोले यी दुई मुलुकबीचको वार्षिक औसत उपभोक्ता मुद्रास्फीति अन्तर १.१ प्रतिशत रहेको छ । अघिल्लो वर्ष नेपाल तथा भारतमा यस्तो मुद्रास्फीति क्रमशः ९.९ प्रतिशत र ५.२ प्रतिशत रहेकोले वार्षिक औसत उपभोक्ता मुद्रास्फीति अन्तर ४.७ प्रतिशत रहेको थियो । 

आर्थिक वर्ष २०७४ मा वार्षिक औसत थोक मुद्रास्फीति २.७ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो मुद्रास्फीति ६.३ प्रतिशत रहेको थियो । कृषिजन्य वस्तुहरुको मूल्य वृद्धिमा उल्लेख्य कमी आएको तथा आयातित वस्तुहरुको मूल्यमा गिरावट आएकोले समग्र थोक मुद्रास्फीति घट्न गएको हो ।