गोरखा । गाउँको तलमाथि दुवैतर्फबाट निरन्तर पहिरो खसेपछि उत्तरी गोरखाको केरौँजा गाविस १, २, ३ र ४ वडाका १३ वटा टहराका भूकम्पपीडित विस्थापित भएका छन् । 

ऋण खोजेर बनाएको टहरा बुधबार झरेको ठूलो पहिरोले पुरिएपछि विस्थापित भएका केरौँजावासी सुरक्षित ठाउँको खोजीमा प्रप्चेत जंगलको खुल्ला चौरमा गएको रात बिताएका छन् । 

गाउँमाथिको रानीवनडाँडा र तलको विक टोलमा पहिरो झरेपछि थप टहरा पुर्ने त्रासले गाउँले सुरक्षित ठाउँको खोजीमा छन् । पूर्वगाविस अध्यक्ष सुकबहादुर गुरुङका अनुसार गाउँमाथिको रानीवनडाँडा र वडा नं २ को पुछारगाउँ, विकटोलमा ठूलो पहिरो खसेको हो । मङ्गलबार रातिदेखि आज बिहानसम्म पहिरो खसिरहेको उनको भनाइ छ । 

गाउँको तलमाथि दुवै भागबाट पहिरो झरेपछि ४७५ वटा भूकम्पपीडितका टहरा पहिरोको उच्च जोखिममा रहेको छ । गतवर्ष असार ११ र भदौ ५ गते झरेको ठूलो पहिरोमा यस वर्ष पनि पहिरो थपिएको हो । गत वर्ष झरेको पहिरोले वडा नं ४ का १३७ टहरा बगाएपछि गाउँले वडा नं १ को अर्काको जग्गामा बस्दै आएका थिए । यो बर्खामा झरेको पहिरोले वडा नं १ का टहरामा पनि क्षति पु¥याएपछि उनीहरु घरबारविहीन भएका हुन् । 

बुधबारको पहिरोले वडा नं ४ का सार्की गुरुङ, मनमाया गुरुङ, सौभार गुरुङ, प्रेमे गुरुङको टहरामा क्षति पु¥याएको छ । यस्तै वडा नं २ का विरेन गुरुङ, काजी गुरुङ, कान्छा गुरुङ, आइते विक, थाम्नी गुरुङ, थाम्मरानी गुरुङ र राजबहादुर गुरुङको घर (टहरा)मा पूर्ण रुपमा क्षति पु¥याएपछि उनीहरु विस्थापित भएका हुन् । ‘केहीबेर पानी थपियो भने ३३२ वटा घर पहिरोले लैजान्छ।’ गुरुङले भने –‘पुछारगाउँ लततत बगेको छ ।’केरौँजाबेँसीको ३२ वटा टहरा पहिरोको जोखिममा रहेको गुरुङको भनाइ छ । 

बुधबार राति जङ्गलको खुल्ला चौरमा बास बसेका पीडितहरु बिहीबार बिहान गाउँ फर्किएका छन् । उनीहरुले सुरक्षित जग्गाको खोजी गर्दै नयाँ टहरा बनाउन सुरु गरेका छन् । आलोपालो गरी पहिरोपीडितले गाउँलेको सहयोगमा टहरा बनाउन सुरु गरेको गुरुङले बताए । केरौँजा–१ को स्वास्थ्य चौकीको भवन रहेको क्षेत्रमाथिका जग्गामा पहिरोपीडित राममाया गुरुङ, आइतमाया गुरुङ, मेनिङ गुरुङ, टेकबहादुर गुरुङको टहरा निर्माणको काम भइरहेको छ । 

‘च्यातिएको त्रिपालले छाएर टहरा बनाउँदैछौ।’गुरुङले भने–‘सिडियोले नयाँ त्रिपाल पठाउँछु भन्नुभएको थियो, पठाउनुभएन ।’
गोरखाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट हेलिकप्टरमार्फत बुधबार पहिरो प्रभावित केरौँजा र उहियास्थित खोर्लाबेसी गाउँ पुगेर सदरमुकाम फर्किएका थिए । जिल्ला दैवी प्रकोप उद्धार समितिको बुधबारको बैठकले पनि पहिरोपीडित केरौँजावासी तथा खोर्लाबेसीवासीलाई तत्कालै राहत सामग्री उपलब्ध गराउने निर्णय गरेको थियो । 

केरौँजाका पहिरोपीडितलाई पिपुल इन निड (पिन) नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले त्रिपाल र टहरो निर्माणमा प्रयोग हुने औजारहरु वितरण गरेको छ । किलाकाँटी, गल, साबेललगायत सामग्री वितरण गरिएको हो । ‘सरकारले हामीलाई सुरक्षित ठाउँमा सार्नुपर्छ।’ पहिरोपीडित सानु घलेले भने–‘पहिरो खसिरहेको यो ठाउँमा कसरी बस्ने ? कतिञ्जेल बस्ने ?’ सरकारले घर बनाउन रु दुई लाख अनुदान रकम दिनुभन्दा पहिले आफूहरुलाई सुरक्षित ठाउँ खोजेर सार्न केरौंजावासीले माग गरेका छन् । 

प्रजिअ नारायणप्रसाद भट्टले पहिरोपीडित केरौंजा तथा खोर्लावासीलाई तत्कालै अन्यत्र सार्न नसकिने बताउँदै सुरक्षित ठाउँमा सरेर टहरो बनाउन आग्रह गरिएको बताए । ‘गाउँ नै सुरक्षित ठाउँमा सानुपर्ने देखिन्छ । तर, तत्कालका लागि सुरक्षित ठाउँमा टहरो बनाउन पीडितलाई आवश्यक पर्ने त्रिपाललगायत सामग्री दिन्छौ’–प्रजिअ भट्टले भने ।