काठमाण्डौ । हिजोआज सानादेखि वृद्धासम्म सबै सेल्फी खिचेर आफ्नो सामाजिक सञ्जालमा पोस्ट गर्न मग्न देखिन्छन् । प्रायः सेल्फी मनोरञ्जनका लागि खिचिन्छ । 

भारतको उत्तर प्रदेशस्थित बाराबन्की जिल्लामा रहेका सरकारी प्राथमिक र आधारभूत विद्यालयहरुमा भने शिक्षकको हाजिरीका लागि सेल्फी फोटो खिच्नै पर्ने कडा नियम बनाइएको छ ।

शिक्षकहरु बिहान ठीक ८ बजे विद्यालय पुग्नुपर्छ र विद्यार्थी तथा अन्य कर्मचारीसँग सेल्फी फोटो खिचेर शिक्षा विभागको ह्वाट्स एप ग्रुपमा पठाउनुपर्छ । त्यसपछि मात्र विद्यालयको नियमित पढाइ र गतिविधि सुरु हुन्छ।

यो नियमलाई ‘सेल्फी अटेन्डेन्स मिटर’ नाम दिइएको छ । यो नियमको पालना नगर्ने र अनुपस्थित हुने शिक्षकको एक दिनको तलब दण्डस्वरुप काटिन्छ ।

खासगरी यो नियम शिक्षकहरु प्रायः छुट्टी बस्ने, नियमित विद्यालय नआउने र आए पनि समय नाघेपछि विद्यालय नआउने हुँदा लागू गरिएको विद्यालयका कर्मचारीहरु बताउँछन् । 

बाराबन्की जिल्लास्थित आधारभूत शिक्षा अधिकारी बीपी सिंहले यो नियम त्यहाँ विद्यालयहरुमा गत अप्रिलबाट सुरु भएको नयाँ शैक्षिकसत्रबाट लागू भएको हो। ‘यो नियम अहिले विद्यालयहरुमा कडाइका साथ लागू भइरहेको छ’, उनी भन्छन्, ‘अनुपस्थित र सेल्फी विभागको ह्वाट्स एप ग्रुपमा हाल्ने करिब सात सय शिक्षक कारबाहीमा परिसकेका छन्, उनीहरुको एक दिनको तलब काटिएको छ।’

त्यहाँका प्राथमिक र आधारभूत सरकारी विद्यालयमा करिब साढे ७ हजार शिक्षक कार्यरत छन् । उनीहरुलाई भनिएको छ कि बिहान ठीक ८ बजे विद्यालय पुग्ना साथै सबै शिक्षक र कर्मचारी भेला भएर विद्यार्थीहरुसँग सामूहिक सेल्फी खिचेर विभागको ह्वाट्स एप ग्रुपमा हाल्नुहोस् ।  

यो नियमलाई धेरैजसो शिक्षकले सही निर्णय मानेका छन् तर केही शिक्षक भने यसको विरोधमा छन् । ‘यो नियमले शिक्षको आत्मसम्मान ठेस पु¥याएको छ । हाजिरीको व्यवस्था पहिलादेखि नै छ फेरि यो सेल्फी खिचेर के नौटंकी गरेको हो ?’, स्थानीय कन्या जुनियर हाई स्कुलकी शिक्षिका भन्छिन्, ‘यो नियमले शिक्षकहरु काम चोर र निकम्मा छन् भनेर साबित गर्न खोजिएको छ ।’

सोही विद्यालयका प्रधानाध्यापक सुशीला शर्मा भने यो नियमको समर्थन गर्छिन्। तर उनी भन्छिन्, ‘समयमा विद्यालयमा नआउने धेरै शिक्षक छन् र जो आउँछन् उनीहरु पनि यो सेल्फी अटेन्डेन्सलाई खासै ध्यान दिँदैनन्।’

यता विभागका अधिकारीहरुले भने सरकारी विद्यालयहरुमा सेल्फी अटेन्डेन्सको निगरानी भइरहेको दाबी गर्छन् । ‘सेल्फी अटेन्डेन्समा हाजिरी नजनाउने जोसुकै शिक्षकको एक दिनको तलब काटिन्छ’, बीपी सिंहले भने, ‘जसलाई तलबको पर्वाह छ, उसले यो नियमको राम्रो पालना गरुन् र यो नियमको विरोध गर्नेहरुमाथि कारबाही हुन्छ ।’

त्यसो त यो नियम लागू गर्नेमा विशेषगरी बाराबन्कीकी मुख्य विकास अधिकारी मेधा रुपमको हात छ । उनी भन्छिन्, ‘यो नियम कडाइका साथ पालना भए नभएको हेर्न एउटा अलग्गै सेल बनाइएको छ । जसमा पहिला विद्यालयका प्रधानाध्यापक, त्यसपछि सहायक प्रधानाध्यापक र संयोजकहरुलाई पहिला रिपोर्ट जान्छ ।’

रुपम आफैँ पनि यो नियमको अनुगमन गरिरहेको बताउँछिन् । ‘कसलाई केही समस्या छ भने त्यही ग्रुपमा समस्या पोस्ट गर्न सक्छन्’, उनी भन्छिन्, ‘त्यसमा मेरो व्यक्तिगत सम्पर्क नम्बर पनि छ ।’

यो नियम लागू भएपछि विद्यालयहरुमा शिक्षकको उपस्थित बढ्नुका साथै विद्यार्थीको सख्यामा बढ्दै गएको सरकारी अधिकारीहरुको दाबी छ । – एजेन्सी