काठमाण्डौ । विश्वभर ‘वाक’ स्वतन्त्रता हक आमनागरिकलाई छ । तर एउटा कुखुराको ‘बास्न’ पाउने अधिकारको मुद्दा अदालतमा पुग्यो भन्दा सायद अपत्यार लाग्न सक्छ । कसैले यो हुनै नसक्ने पनि भन्लान्। तर फ्रान्सको एउटा सहर कुखुरा ‘बास्ने’ पाउने अधिकारको मुद्दाले ठूलै हंगामा मच्चायो ।

फ्रान्सको ओलोन सहरमा एक दम्पतीले पालेको कुखुरोले बिहान सबेरै बास्दा निद हराम भएको भन्दै छिमेकीले आवाज उठाए । ती छिमेकीले यो मुद्दा अदालतसम्म पुर्याए । अन्ततः अदालतले कुखुरोको पक्षमा फैसला सुनायो । अदालतले कुखुरोको बास्न पाउने अधिकार सुनिश्चित गरिदियो ।

यो कुखुरोको नाम मौरिस रहेको छ । यो अहिले ४ वर्षको भयो । यसलाई ओलोनका ज्याकी र उनकी पत्नी कोहिनाले पालिरहेका छन्।

बिहान सबेरै बासेर हैरान पारेको भन्दै छिमेकी ज्या लुईले सुरुमा ज्याकी दम्पतीमाथि आक्रोश पोखे । पछि ज्याकी दम्पतीले प्राकृतिक रुपमा हुने कुरामा नियन्त्रण गर्न नसकिने भनेपछि ज्या लुई अदालतको ढोका ढक्ढक्याउन पुगिन् । 

तर अदालतले पनि कुखुराकै पक्षमा फैसला सुनाउँदै कुखुराको बास्न पाउने अधिकार सुनिश्चित गरिदियो । अनि कुखुरा बास्न रोक्न भन्दै ज्याकी दम्पतीलाई मानसिक तनाव दिएको भन्दै अदालतले ज्या लुइसलाई ११ सय डलर क्षतिपूर्ति दिन पनि आदेश दियो ।

त्यसो त यो मुद्दाले फ्रान्समा निकै तहल्का मच्चायो । करिब १ लाख ४० हजार जनताले हस्ताक्षर संकलन गर्नुका साथै कुखुराको तस्बिरअंकित टीसर्ट लगाएर कुखुराको बास्न पाउने अधिकारी सुनिश्चितताको माग गर्दै प्रदर्शन सुरु गरे । एक समर्थक भन्छन्, ‘हामी मौरिस र उसको मालिकको समर्थन त गर्छौं नै तर एउटा कुखुरोको बास्न पाउने अधिकार कुण्ठित गर्दै अदालत पुर्याउँदा निकै दुःख लागेको छ ।’

कुखुराको बास्न पाउने अधिकारको अदालतले गरेको रक्षाको विषय अहिले फ्रान्समा निकै चर्चामा छ । –एजेन्सी