काठमाण्डौ । नवील बैंक लिमीटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा औसत प्रगति गरेको छ । यो बैंकले वितरणयोग्य मुनाफातर्फ ९.६१ प्रतिशतको बढोत्तरी गरेको छ भने खूद नाफा र संचालन नाफातर्फको प्रगति समेत सामान्य छ । 

अघिल्लो वर्ष ८५ करोड १४ लाखमा सीमित वितरणयोग्य मुनाफा बढेर यो वर्ष ९३ करोड ३१ लाखको उचाईमा पुगेको छ । यसैगरी, ८५ करोड १४ लाखमा सीमित खूद नाफा बढेर १ अर्ब ५ करोड पुगेको छ । 

अघिल्लो वर्ष यही अवधिमा १ अर्ब २० करोडमा सीमित संचालन नाफा बढेर १ अर्ब ५० करोड पुगेको छ । 

यो बैंक पनि व्यवसाय बिस्तारमा आक्रामक नै देखिएको छ । फलस्वरुप अघिल्लो वर्षको यही अवधिमा १ अर्ब ३६ करोड रुपैयाँमा सीमित खूद ब्याज आम्दानी बढेर १ अर्ब ८५ करोडको उचाई चुमेको हो । 

समीक्षा अवधिमा नवील बैंकले १ खर्ब ४३ अर्ब निक्षेप संकलन गरी १ खर्ब २८ अर्ब कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा १ खर्ब २३ अर्ब निक्षेप संकलन गरी ९७ अर्ब कर्जा परिचालन गरेको थियो ।

यो बैंकले रिजर्बकोषतर्फ भने छलाङ नै मारेको छ । अघिल्लो वर्षको यही अवधिमा ६ अर्ब ९० करोड रहेको रिजर्ब कोषमा समीक्षा अवधिसम्म १३ अर्ब ७९ करोड सञ्चित रहेको छ । 

अघिल्लो वर्षको पहिलो त्रैमाससम्म १.११ प्रतिशत रहेको खराब कर्जाको अनुपात घटाएर ०.५८ प्रतिशतमा झार्ने सफलता बैंकले पाएको छ भने ४२ रुपैयाँ ३४ पैसामा सीमित वार्षिकीकृत प्रतिसेयर आम्दानी बढेर ५२ रुपैयाँ ५९ पैसाको उचाई चुमेको छ ।

यो अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ २७१.५२ रुपैयाँ कायम भएको छ ।