काठमाण्डौ । पाइपलाइनमा राखेको करिब ५ महिनापछि धितोपत्र बोर्डले पाँचथर पावर कम्पनी लिमीटेडलाई १९ करोड २५ लाख रुपैयाँ बराबरको आइपीओ निश्कासन अनुमति दिएको छ । 

आइपीओ निश्कासनको माग गर्दै धितोपत्र बोर्ड पुगेको यो कम्पनीलाई बोर्डले पाँच महिनाअघि नै आइपीओ निश्कासन गर्ने कम्पनीहरुको सूचिमा राखे पनि पुस १३ गते मात्र निश्कासन अनुमति दिएको हो ।  

यो कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १९ लाख २५ हजार कित्ता आइपीओ निश्कासन गर्नेछ । 

कम्पनीले आयोजना प्रभावित र सर्वसाधारण लगानीकर्ताका लागि आइपीओ निश्कासन गर्न लागेको हो । आयोजना प्रभावितका लागि ९ लाख ६२ हजार ५ सय कित्ता तथा सर्वसाधारणका लागि पनि ९ लाख ६२ हजार ५ सय कित्ता नै सेयर निश्कासन गर्नेछ । 

कम्पनीले कुल पूँजीको २० प्रतिशत सेयर आयोजना प्रभावित र सर्वसाधारणका लागि निश्कासन गर्न लागेको हो । 

आइपीओको निश्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल मार्केट लिमीटेड रहेको छ । 

यो कम्पनीले १४.९ मेगावाट क्षमताको हेवाखोला ए प्रोजेक्टबाट बिजुली उत्पादन थालिसकेको छ । हेवा खोलाको आयोजनास्थल पाँचथरमा छ भने यहाँबाट उत्पादित बिजुलीले ताप्लेजुङ, पाँचथर, इलाम र झापा जिल्लासम्मका क्षेत्रलाई उज्यालो बनाएको छ। 

हाल कम्पनीको चुक्तापूँजी ७६ करोड रुपैयाँ छ । आइपिओ जारी गरेपछि कम्पनीको पूँजी झण्डै ९६ करोड पुग्नेछ ।

केयर रेटिंग नेपालले यो कम्पनीको आइपीओलाई 'केयर-एनपी आइपीओ ग्रेड-४' को रेटिंग प्रदान गरेको छ । यसको अर्थ कम्पनीको अवस्था औसत भन्दा कमजोर छ भन्ने हो ।