काठमाण्डौ । कोरोना भाइरसबाट संक्रमित भई आइसोलेसनमा रहेका पाँचैजनाको अवस्था निकै सामान्य रहेको छ।

स्वास्थ्य मन्त्रालयले शुक्रबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले यस्तो जानकारी दिएका हुन् । 

नेपालमा हालसम्म भेटिएका ६ कोरोना संक्रमितमध्ये १ जना उपचारपछि घर फर्किसकेका छन् भने बाँकी ५ जनालाई आइसोलेसनमा राखिएको छ । 

टेकूमा २, बाग्लुङमा २ र धनगढीमा १ संक्रमितलाई आइसोलेसनमा राखिएको र सबैको अवस्था निकै सामान्य रहेको डा. देवकोटाले जानकारी दिए । 
यस्तै, नेपालभर हालसम्म १२० जना संभावित संक्रमितलाई पनि आइसोलेसनमा राखिएको डा. देवकोटाले जानकारी दिए । तीमध्ये १५ जना काठमाण्डौ उपत्यकाभित्र छन् भने विभिन्न प्रदेशमा बाँकी १०५ जनालाई आइसोलेसनमा राखिएको छ । 

सरकारले हालसम्ममा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा १२७७ वटा नमूना परीक्षण गरिसकेको छ । यसमध्ये ६ जनामा मात्र संक्रमण देखिएको हो । 

नमूना परीक्षणका लागि प्रादेशिक स्तरमा समेत प्रयोगशाला संचालनमा ल्याइएको छ । पछिल्लो २४ घण्टामा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्थापित प्रयोगशालामा ३९ जनाको नमूना परीक्षण भएको छ, सबै रिपोर्ट नेगेटिभ आएको छ । 

धरान बाहेक पोखरा स्वास्थय विज्ञान प्रतिष्ठान, पोखरा, हेटौडा, जनकपुर, सुर्खेत र धनगढीमा समेत कोभिड १९ को नमूना परीक्षण सुरु भइसकेको डा. देवकोटाले जानकारी दिए । 

यस्तै, स्वास्थ्य मन्त्रालयले छैठौं संक्रमितको कन्ट्याक्ट ट्रेसिङ कामलाई पनि अगाडि बढाएको उनले जानकारी दिए । 

सरकारले हालै संचालन गरेको विशेष एपमार्फत आफूमा देखिएको लक्षण अपलेड गरेर भर्चुअलमाध्यमबाट कोरोना संक्रमण भए या नभएको जाँच गर्न खोज्नेमध्ये १०७ जनालाई मन्त्रालयले रेडजोनमा राखेको छ । हालसम्म सो एपमा ५ हजार ६२६ ले आफ्नो व्यक्तिगत विवरण तथा लक्षणहरु प्रविष्ट गरेका र तीमध्ये १०७ व्यक्ति रेडजोनमा परेका र उनीहरुलाई सम्पर्क गरी नमूना परीक्षण गरिने डा. देवकोटाले जानकारी दिएका छन् ।