काठमाण्डौ । नेपाली सेयर बजारको इतिहासमा आज दैनिक कारोबार रकमले रेकर्ड ब्रेक गरेको दिन हो । यतिमात्र हैन यो साताले समेत सेयर बजारको इतिहासमा नयाँ रेकर्ड कायम गरेको समय हो यो । 

यो साताको ५ कारोबार दिनमै ११ अर्ब २० करोड ५३ लाख बढीको सेयर कारोबार भएको छ । जानकारहरुका अनुसार यो पनि अर्को एउटा रेकर्ड हो । संभवत हालसम्म ५ कारोबार दिनमा यति धेरै रकम तथा यति धेरै कित्ता बराबरको सेयर कारोबार भएको थिएन । 

नेप्से इण्डेक्सले १३६० विन्दूको प्रतिरोधलाई समेत तोडेर अघि बढ्दै जाँदा साताको कारोबार हुने पहिलो दिन नेप्से १३६३.९७ अंकमा सीमित थियो ।

बजार बन्द हुँदा नेप्से परिसूचक १४३४.५७ को विन्दूमा पुग्यो । यो हिसाबले एक सातामै नेप्से परिसूचक ७४.५७ अंकले बढ्यो । 

बुलिस ट्रेण्डमा दौडाहामा रहेको बजारमा चौतर्फी सकारात्मक माहौल र लगानीकर्ताहरुमा बढ्दो मनोबलले समेत नेप्सेमा नयाँ नयाँ रेकर्डहरु बन्दै गइरहेका छन् । 

यो साता सबैभन्दा धेरै कारोबार बिहीबार(आज) भयो । यो दिन नेप्सेको इतिहासमै सर्वाधिक २ अर्ब ७८ करोड बढीको कारोबार भयो । सबैभन्दा कम बुधबार १ अर्ब ६२ करोडको सेयर कारोबार भयो । 

साताको ५ कारोबार दिनमध्ये सोमबार सबैभन्दा बढी ६४ लाख ७४ हजार कित्ता सेयरको कारोबार भयो ।